काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा व्याप्त परपीडक प्रवृत्ति, अर्थात् आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने र हरेक कुराको विरोध गर्ने बानीबाट समाजलाई बचाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत यस्तो प्रवृत्तिबाट समाजलाई उत्तेजित हुनबाट रोकी विवेकतर्फ फर्काउनुपर्ने बताउनुभएको छ । ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ दुई गायिका एलिना चौहान र समीक्षा अधिकारीको तरिकालाई सही ठहर गर्दै प्रधानमन्त्री ओलीले समाजमा हरेक सकारात्मक पहलकर्ताले अनावश्यक गाली पाउने प्रवृत्ति अत्यधिक बढेको उल्लेख गर्नुभएको छ ।
उहाँले राम्रो गर्न खोज्नेले हिम्मत हार्नु नहुनेमा जोड दिनुभएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरू, विशेषगरी सार्वजनिक पदमा रहेका वा कुनै क्षेत्रमा सफल भएका व्यक्तिहरूलाई लक्षित गरी अनावश्यक आलोचना र गालीगलौज गर्ने प्रवृत्ति बढेको छ। यसले समाजमा असहिष्णुता बढाएको र रचनात्मक बहसभन्दा व्यक्तिगत आक्रमण हावी भएको गुनासो बढिरहेका बेला प्रधानमन्त्रीको यो अभिव्यक्ति आएको हो। एलिना चौहान र समीक्षा अधिकारीले आफूहरूलाई सामाजिक सञ्जालमा गालीगलौज गर्ने व्यक्तिहरूको टिप्पणीलाई सार्वजनिक गर्दै उनीहरूलाई जवाफ फर्काउने रणनीति अपनाएका छन्।
प्रतिक्रिया