झापा–५ मा ओलीलाई नै मत किन ? एमालेले अघि सार्‍यो ३० कारण

काठमाडौं, २ फागुन । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई मत हाल्नै पर्ने ३५ वटा कारण अघि सारेको छ । पार्टीको झापा–५ क्षेत्रीय कमिटीले प्रकाशन गरेको अपिलमा राष्ट्रिय स्वाधीनताको रक्षादेखि शिक्षक दरबन्दी मिलानसम्मका विषयहरू समेटिएको छ । अध्यक्ष ओलीलाई नै भोट किन भन्ने शीर्षकको अपिलमा खस्किएको मनोबल उठाउनका लागि ओलीलाई जिताउनु पर्ने उल्लेख गरिएको छ ।

‘देशमा छाएको त्रासको वातावरण अन्त्य गरी सबै नेपालीलाई शान्ति सुरक्षाको ग्यारेन्टी गर्नका लागि ओलीलाई मत दिनु पर्दछ’ अपिलमा भनिएको छ, ‘झापा–५ मा सुरु गरिएका विकासका अधुरा योजनाहरुलाई सम्पन्न गर्नका लागि केपी ओलीलाई मत दिन अपिल गरिन्छ । ’ एमालेको अपिलमा नवयुवालाई प्राविधिक शिक्षा उपलब्ध गराई युवामा सीपमुलक विकास गर्दै स्वरोजगार अभिवृद्धिका लागि ओलीलाई मतदान गर्न आह्वन गरिएको छ । ओलीलाई जिताएर सुस्ताएको अर्थतन्त्र चलायमान बनाउन र कृषि क्षेत्रको विकास गरी खाद्यान्नमा आत्मनिर्भर बनाउन पनि केपी ओलीको आवश्यकता रहेकाले ओलीलाई मतदान गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार  १८ : २७  बजे