काठमाडौं, २ फागुन । बंगलादेशको चुनावी नतिजाले जेन–जी आन्दोलनको सीमितता देखाएको छ। सन् २०२४ को हिंसात्मक विद्यार्थी आन्दोलनबाट जन्मिएको ‘नेशनल सिटीजन पार्टी’ले बहुमतको अपेक्षा राखेको भए पनि केवल ६ सिटमा मात्र जीत हात पारेको छ। डेढ वर्षअघि सरकारी जागिरमा भूतपूर्व सेनाका सन्तानलाई आरक्षण दिने नीति विरुद्ध चर्किएका आन्दोलनमा करिब १४ सय जनाको ज्यान गइसकेको थियो भने २५ हजार बढी घाइते भएका थिए। अन्ततः तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई देश छोड्न बाध्य पारियो।
बीएनपीले बिहीबार सम्पन्न आमनिर्वाचनमा ३०० सिटमध्ये २१६ सिट जितेर स्पष्ट बहुमत हासिल गरेको छ। यसले तारिक रहमानलाई प्रधानमन्त्री बन्न सुनिश्चित गरेको छ। ३५ वर्षपछि बंगलादेशमा पुरुष प्रधानमन्त्री पाउने व्यवस्था भएको छ, तर सत्तापरिवार बाहिर उनलाई नेतृत्व गर्न सहज हुनेछैन।
नेपालमा पनि बंगलादेशको सिको गर्दै भदौ २३–२४ गते जेन–जी आन्दोलन भएको थियो। यसमा २१ जना विद्यार्थीसहित ७६ जनाले ज्यान गुमाएका थिए। तर राजनीतिक नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लिएको देखिन्छ। आन्दोलनका युवाहरूले उम्मेदवारी नदिए पनि रास्वपा पार्टीले जेन–जीको एजेन्डा आफूहरूले पूरा गर्न सक्ने दाबी गर्दै चुनावी मैदानमा पुगेको छ।
सामाजिक सञ्जालमा बढी फलोअर्स भएका युवा नेताहरूले उम्मेदवारी दिएका छन्। तर बंगलादेशको अनुभवले देखाएको छ—सिर्फ लोकप्रियता वा आन्दोलनले चुनाव जिताउन सक्दैन। मतदाता वास्तविक परिणाम र भरोसाका आधारमा निर्णय गर्छन्।
नेपालमा पुराना राजनीतिक दलका नेताहरूमा भ्रष्टाचार र असन्तोषको बीचमा जेन–जी आन्दोलन उदाएको थियो। शिक्षा, स्वास्थ्य र रोजगारको अभावले नागरिकलाई विदेशिन बाध्य पार्दै आन्दोलनलाई उत्प्रेरित गरेको थियो। रास्वपा यस पटक सामाजिक सञ्जालमा लोकप्रिय उम्मेदवार उठाएर बहुमत ल्याउने योजना अघि बढाइरहेको छ। तर बंगलादेशको चुनावी परिणामले देखाएझैँ, फलोअर्सले होइन, भोटले मात्रै भविष्य तय गर्छ।









प्रतिक्रिया