काठमाडौं, २२ माघ । परमा णु हतियार नियन्त्रणसम्बन्धी अमेरिका र रुसबीच भएको महत्त्वपूर्ण सन्धिको म्याद आजदेखि सकिएको छ ।सन् २०१० मा तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामा र रुसी राष्ट्रपति दिमित्री मेद्भेदेभले हस्ताक्षर गरेको न्यू स्टार्ट भनिने स्ट्र्याटेजिक आर्म्स रिडक्शन ट्रिटी विनाशकारी परमाणु युद्ध रोक्न महत्त्वपूर्ण थियो ।यो सम्झौताले अमेरिका र रुस दुवैलाई लामो दूरीसम्म प्रहार गर्न सक्ने परमाणु हतियारको सङ्ख्या साढे १५ सयमा सीमित राखेको थियो । सम्झौताले अन्तरमहादेशीय मिसाइल, पनडुब्बीबाट प्रक्षेपण हुने मिसाइल र बमवर्षकमार्फत तैनाथ परमाणु हतियारलाई कडाइका साथ सीमित गरेको थियो ।
परमाणु अस्त्र भण्डारको अनियन्त्रित विस्तारबाट रोक्ने अन्तिम सन्धिको म्याद सकिएपछि अब संसारमा अस्त्र विस्तारको नयाँ होडबाजी शुरू हुने डर बढेको बीबीसीले जनाएको छ । दुवै देशले सन्धि नवीकरणमा चासो नदेखाएपछि म्याद गुज्रिएको हो ।संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यो अवस्थालाई अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको दृष्टिले गम्भीर समय भन्नुभएको छ ।अमेरिका र रुस दुवैले आफ्नो परमाणु शक्ति तथा रणनीतिक क्षमताको आधुनिकीकरण गरिरहेका छन् । विश्वको कुल परमाणु हतियारको ८० प्रतिशत अमेरिका र रुसको नियन्त्रणमा छ ।अमेरिका र रुससँगै चीनले पनि लामो दूरीका हाइपरसोनिक क्षेप्यास्त्र विकास गरिरहेको छ । तिनीहरूको गति ६ हजार ४ सय ३७ किलोमिटर प्रतिघण्टासम्म रहेकोले तिनलाई रोक्न कठिन हुने ठानिन्छ ।









प्रतिक्रिया