गगन थापाको सन्देश- बदलिएको कांग्रेसले सिद्धान्तसँग सम्झौता गर्दैन, सत्तामा जान जोसँग पनि मिल्दैन

काठमाडौं, २१ माघ । नेपाली कांग्रेसका सभापति  गगन थापाले नेपाली कांग्रेस अब सत्ताका लागि जोसँग पनि सम्झौता नगर्ने गरी रूपान्तरण भइसकेको स्पष्ट पार्नुभएको छ। उहाँले कांग्रेस परिवर्तन भइसकेको र अब सिद्धान्त र राष्ट्रहितभन्दा माथि कुनै स्वार्थ नराखिने बताउनुभएको हो।

बुधबार सार्वजनिक गर्नुभएको भिडियो सन्देशमार्फत सभापति थापाले विगतका कमजोरीहरूको गम्भीर समीक्षा गर्दै नेपाली कांग्रेसलाई नयाँ सोच र दृष्टिकोणसहित परिवर्तन गरिएको जानकारी दिनुभयो। कांग्रेसलाई परिवर्तन गर्नु सहज नभए पनि आवश्यक भएकाले दृढतापूर्वक अघि बढाइएको उहाँको भनाइ छ।

उहाँले भन्नुभयो, “यो प्रक्रिया सजिलो थिएन तर गर्नैपर्ने थियो। हामी अहिले नेपाली कांग्रेसलाई बदलेर आएका छौँ।”

सभापति थापाले कांग्रेस परिवर्तनको अर्थ केवल अनुहार वा नेतृत्व परिवर्तन मात्र नभएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार यो पुरानो कांग्रेस नभई सोच, दृष्टि र मूल्यमा आधारित नयाँ कांग्रेस हो। “बदलिएको कांग्रेस भनेको नेतृत्वको अनुहार मात्र फेरिएको होइन, यो सोच र कार्यशैलीमा आएको परिवर्तन हो,” उहाँले बताउनुभयो।

उहाँले बदलिएको नेपाली कांग्रेस अब सत्ताको लोभमा जोसँग पनि मिल्ने अभ्यास नगर्ने स्पष्ट पार्नुभयो। “राष्ट्रको हितभन्दा माथि पार्टीको स्वार्थ राख्ने काम बदलिएको कांग्रेसले कहिल्यै पनि गर्दैन। सिद्धान्तसँग सम्झौता गर्नुपर्ने अवस्था आयो भने सत्ता छाड्न तयार हुन्छ, तर गलत सम्झौता गर्दैन,” सभापति थापाको भनाइ छ।

बरु सरकार बाहिर बस्न तयार हुने तर सिद्धान्तमा सम्झौता नगर्ने अडान दोहोर्‍याउँदै उहाँले कांग्रेसलाई स्थापना कालमा अंगिकार गरिएका मूल मूल्य र नीतितर्फ फर्काइने बताउनुभयो। “पार्टी भनेको केवल चुनाव जित्ने मेसिन होइन, यो सामाजिक आन्दोलन हो भन्ने सोचलाई पुनः स्थापित गरिन्छ,” उहाँले भन्नुभयो।

सभापति थापाले बदलिएको कांग्रेस भनेको विगतलाई अस्वीकार गरेको अर्थ नलागोस् भन्ने आग्रह पनि गर्नुभयो। “हिजोका सबै नेताहरू गलत थिए भन्ने होइन। नयाँ सोचसहित अघि बढ्नु भनेको पुरानासँग सम्बन्धविच्छेद गर्नु होइन,” उहाँले स्पष्ट पार्नुभयो।

कांग्रेसका आधारस्तम्भ लोकतन्त्र, सामाजिक न्याय र विविधतालाई अझ मजबुत बनाइने उहाँको भनाइ छ। “यी मूल्यहरू नै हाम्रो आत्मा र जरा हुन्, नयाँ कांग्रेसले यसलाई अझ विस्तार गर्नेछ,” सभापति थापाले उल्लेख गर्नुभयो।

उहाँले नेपाली कांग्रेसले जेन–जी पुस्ताका मुद्दाहरूलाई आत्मसात् गर्दै त्यसअनुसार आफूलाई रूपान्तरण गरेको र अब त्यसको कार्यान्वयनका लागि सरकारमा जाने अवसर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।

“तपाईंहरूको आह्वानका आधारमा कांग्रेस बदलिएको छ। तपाईंहरूको विश्वास र सहभागिताले बदलिएको कांग्रेसले देश परिवर्तन गर्नेछ,” सभापति थापाले भन्नुभयो। उहाँले यो सन्देश जन–जनसम्म पुर्‍याउन समेत आग्रह गर्नुभयो।

युवालाई विश्वासमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै सभापति थापाले आजको नेपाली कांग्रेस युवासँग हातेमालो गरेर अघि बढ्न चाहने पार्टी भएको बताउनुभयो। “हामीलाई ध्यान दिएर सुन्नुभयो भने तपाईं स्वयं र अरूलाई पनि रुख चिह्नमा मत हालेर नयाँ युगको आवश्यकतालाई सम्बोधन गर्ने पार्टीलाई साथ दिन प्रेरित हुनुहुनेछ,” उहाँले विश्वास व्यक्त गर्नुभयो।

प्रकाशित मिति: २१ माघ २०८२, बुधबार  २० : ३६  बजे