बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिन बाध्य उपभोक्ता

काठमाडौं, १९ माघ ।  पछिल्लो दुई सातादेखि बजारमा देखिएको एलपी ग्यासको अभाव अझै समाधान हुन सकेको छैन। विशेषतः नेपाल ग्यासको आपूर्ति अत्यन्त न्यून हुँदा उपभोक्ता गम्भीर समस्यामा परेका छन्।

काठमाडौँ उपत्यकामा नेपाल ग्यासको बजार हिस्सा उल्लेख्य रहेकाले यसको अभावले दैनिक जीवनमा प्रत्यक्ष असर परेको उपभोक्ताहरूले गुनासो गर्नुभएको छ। भारतबाट समयमै ग्यास ढुवानी हुन नसक्दा बजारमा ग्यासको चरम अभाव सिर्जना भएको बताइएको छ।

दुई सातादेखि बिक्री केन्द्रमा ग्यास नपाएपछि उपभोक्ताहरू खाली सिलिण्डर बोकेर बालाजु औद्योगिक क्षेत्रस्थित नेपाल ग्यासको केन्द्रीय कार्यालयमा पुग्ने गरेका छन्। कार्यालयसम्म पुग्दा पनि ग्यास नपाएको गुनासो नयाँ बसपार्क निवासी उपभोक्ता नमराज घिमिरेले गर्नुभयो।

उहाँले भन्नुभयो, “घरमा ग्यास सकिएर समस्या भइसक्यो। डिपोमा १०–१५ दिनदेखि पालोमा राखियो, तर पालो आएन। डिपोले कम्पनीमै ग्यास वितरण भइरहेको बतायो, त्यसपछि यहाँ आएँ। हिजो बाँडिएको छ भनेर आज आउँदा ग्यास नै रहेनछ, निकै बिचल्ली भइरहेको छ।”

उहाँका अनुसार घरमा एउटै सिलिण्डर भएकाले ग्यास सकिएपछि परिवारको दैनिकी नै प्रभावित भएको छ। रौतहट घर भई हाल चाबहिलमा बसोबास गर्दै आउनुभएका प्रेम साहले पनि बजारमा नेपाल ग्यास कतै नपाउँदा दाउराको भरमा खाना पकाउनुपरेको बताउनुभयो। समयमै ग्यास नपाउँदा जीविकोपार्जनमै समस्या परेको उहाँको भनाइ छ।

त्यस्तै, धादिङ घर भई हाल काठमाडौँ बस्दै आउनुभएका अर्जुन सिम्खडाले आफ्नो वरपर कतै पनि नेपाल ग्यास साट्न नपाएको गुनासो गर्नुभयो।

उपभोक्ताको गुनासो बढिरहँदा नेपाल ग्यास कम्पनीले ढुवानीमा समस्या देखिएकाले अभाव कायमै रहेको स्पष्ट पारेको छ। नेपाल ग्यासका कार्यकारी सञ्चालक तथा नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष गोकुल भण्डारीले नेपाल ग्यासको दैनिक माग ८–१० बुलेट बराबर रहेको जानकारी दिनुभयो।

उहाँका अनुसार सो मात्रामा ढुवानी सहज हुन नसक्दा समस्या देखिएको हो। हाल समस्या समाधानतर्फ उन्मुख भए पनि बजारको आपूर्ति चक्र सामान्य अवस्थामा फर्किन केही दिन लाग्ने उहाँले बताउनुभयो।

भण्डारीले भन्नुभयो, “सम्पूर्ण उपभोक्तालाई समयमै ग्यास उपलब्ध गराउनु हाम्रो दायित्व हो। यो राज्यबाट नियन्त्रित व्यवसाय भएकाले राज्यको भूमिका पनि अपरिहार्य हुन्छ। आफ्नै बुलेट नहुनु र ढुवानीमा निर्भरता रहनु समस्याको कारण बनेको हो। पाइपलाइन प्रणाली चाँडो कार्यान्वयन भए यस्ता समस्या दोहोरिने थिएनन्।”

उहाँका अनुसार नेपाल ग्यासको दैनिक खपत करिब ८ हजार सिलिण्डर रहेको छ, जाडो मौसममा यो संख्या अझै बढ्ने गर्दछ। पछिल्लो समय मागभन्दा बढी ग्यास बजारमा पठाइएको दाबी गर्दै उहाँले देखिएको अभाव क्रमशः व्यवस्थापन हुँदै गएको बताउनुभयो।

यसैबीच, नेपाल आयल निगमले नेपाल ग्याससहित केही ग्यास उद्योगमा देखिएको अभावबारे जानकारी रहेको जनाएको छ। निगमका प्रवक्ता मनोज ठाकुरले अभाव छिटो हटाउन उद्योगीलाई कडा निर्देशन दिइएको बताउनुभयो।

उहाँले भन्नुभयो, “भारतबाट समयमै ढुवानी हुन नसक्दा समस्या आएको हो। ग्यास ढुवानी गर्ने सवारी साधन भारतीय पक्षकै भरमा रहनुपरेको अवस्था छ। ढुवानीकर्ता नआए समस्या हुने गरेको छ। अहिले उद्योगीहरूसँग छलफल भइरहेको छ र इण्डियन आयल कर्पोरेसनसँग पनि निगमले समन्वय गरिरहेको छ।”

प्रवक्ता ठाकुरका अनुसार निर्वाचन नजिकिँदै गएकाले निगमले ग्यास अभावप्रति विशेष चासो दिएको छ। साथै, कालोबजारी गरेको पाइएमा कडा कारबाही गरिने चेतावनीसमेत निगमले दिएको छ।

प्रकाशित मिति: १९ माघ २०८२, सोमबार  १९ : ३६  बजे