काठमाडौं महानगरमा सुनिता डंगोलको नयाँ पहल: ७० वर्षमाथिका नागरिकलाई घरमै स्वास्थ्य सेवा

काठमाडौं, १८ माघ । काठमाडौं महानगरपालिकाले आजदेखि ७० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा तथा परीक्षण सुरु गरेको छ।

कार्यवाहक मेयर सुनिता डंगोलका अनुसार अब ज्येष्ठ नागरिकका लागि स्वास्थ्य सेवा अस्पतालमा मात्र सीमित रहने छैन। महानगरले घरदैलोमै स्वास्थ्य सर्वेक्षण, नियमित परीक्षण, परामर्श, आवश्यक औषधि उपलब्ध गराउनेछ भने जटिल अवस्थामा अस्पतालसम्म लैजान समेत सहजीकरण गर्नेछ।

मेयर डंगोलले जारी गरेको वक्तव्यमा भनिएको छ,– ‘अब स्वास्थ्य सेवा अस्पतालमै सीमित रहने छैन। ७० वर्षभन्दा माथिका अभिभावकहरूका लागि घरमै आधारभूत स्वास्थ्य सेवा काठमाडौं महानगरपालिकाले आजबाट सुरु गर्दैछ। स्वास्थ्य सर्वेक्षणदेखि स्वास्थ्य प्रवर्द्धन, नियमित परीक्षण, आवश्यक औषधि, परामर्शदेखि जटिल अवस्थामा अस्पतालसम्मको सहजीकरण—सबै सेवा घरदैलोमै उपलब्ध हुनेछ।’ ‘असक्त हुँदा महानगरपालिकाको सेवा, ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा’ भन्ने नाराका साथ यो अभियान सुरु गरिएको महानगरपालिकाले जनाएको छ।

प्रकाशित मिति: १८ माघ २०८२, आइतबार  २१ : ००  बजे