काठमाडौं, १८ माघ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलका घोषणापत्रमा आर्थिक विषयले प्राथमिकता पाउन नसकेको बताउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार सङ्घले आज काठमाण्डौमा गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ सम्बन्धी कार्यक्रममा अध्यक्ष ढकालले राजनीतिक दलहरू आफ्नो एजेन्डाभन्दा पनि अन्य दललाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति मौलाएकोमा चिन्ता व्यक्त गर्नुभयो । कुनै पनि दलका घोषणापत्रमा अहिलेसम्म निजी क्षेत्र र आर्थिक विषय प्राथमिकतामा नपरेका उहाँको भनाइ छ ।
यस्तै कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सम्भावना भएका क्षेत्रबाट रोजगारी सिर्जना गर्नेगरी आवश्यक खाका दलहरूको घोषणापत्रमा समेटिनुपर्ने बताउनुभयो । उहाँले दलको तर्फबाट धारणा राख्दै यसअघिका घोषणापत्रमा धेरै लेखिएका र प्रतिबद्धता गरिएका कार्यक्रमहरू कार्यान्वयन गर्न नसकेको स्वीकार गर्नुभयो । साथै कांग्रेसले ल्याउने घोषणापत्रमा पनि नयाँ क्षेत्रको पहिचान गरी अर्थतन्त्रमा ती क्षेत्रलाई जोड्ने योजना रहने उहाँले जानकारी दिनुभयो ।
महामन्त्री पौडेलले अर्थतन्त्रलाई डीजिटलाइजेशन गरेर भ्रष्टाचारको अन्त्य गर्न सकिने भन्दै प्रशासनिक संयन्त्र र तहगत सरकारका कामलाई पनि डीजिटलाइजेशन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।









प्रतिक्रिया