नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव डा. भट्टराई

काठमाडौं, १८ माघ। नेकपा (एमाले) का सचिव डा. राजन भट्टराईले नेपाल वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा परिरहेको बताउनुभएको छ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले विश्वव्यापी अव्यवस्था (इन्टरनेशनल डिसअर्डर) का कारण नेपालमा राजनीतिकसहित विभिन्न क्षेत्रमा असर देखिन थालेको उल्लेख गर्नुभयो। उहाँका अनुसार यो प्रभाव आगामी दिनमा अझ गम्भीर बन्दै जाने सम्भावना छ।

“हामी अत्यन्तै फरक किसिमको अन्तर्राष्ट्रिय परिस्थितिमा प्रवेश गरिसकेका छौँ। यसको असर नेपालमा कति परेको छ वा परेको छैन भन्ने विषयमा बहस भइरहे पनि यसको प्रभाव पर्न थालिसकेको छ,” डा. भट्टराईले भन्नुभयो, “अहिले हामी प्रभावको तानातानको बीचमा पर्दै गएका छौँ।”

डा. भट्टराईले ठूला राजनीतिक दलहरू कठिन अवस्थामा परेपछि विदेशी हस्तक्षेप वा षड्यन्त्र देख्ने प्रवृत्तिलाई सामान्यीकरण गर्ने प्रयास भइरहेको बताउँदै त्यसलाई तथ्यहीन भनेको स्पष्ट पार्नुभयो। उहाँका अनुसार यस्तो धारणा वास्तविकतामा आधारित छैन।

उहाँले वर्तमान विश्व परिवेशमा अन्तर्राष्ट्रिय व्यवस्था क्रमशः कमजोर बन्दै गएको र त्यसको प्रत्यक्ष असर नेपालमा पर्न थालेको उल्लेख गर्नुभयो। “अहिलेको परिवेशमा ठूला दलहरू समस्यामा परेपछि विदेशी हस्तक्षेप देख्छन् भन्ने न्यारेटिभ बनाउन खोजिएको छ, तर त्यो सत्य होइन,” उहाँले भन्नुभयो, “विश्वस्तरमा इन्टरनेशनल डिसअर्डर जुन ढंगले भत्किँदै गएको छ, त्यसको प्रभाव नेपालमा पर्न थालेको छ र यो प्रभाव अझ गम्भीर हुने संकेत देखिँदैछ।”

सचिव भट्टराईले यस अवस्थालाई हल्का रूपमा लिएमा छिट्टै नै त्यसको परिणाम देखिन सक्ने चेतावनीसमेत दिनुभयो। उहाँका अनुसार अन्तर्राष्ट्रिय प्रभावका कारण भित्री रूपमा विभाजनको अवस्था देखिन थालेको छ, जसप्रति सबैले गम्भीर ध्यान दिन आवश्यक छ।

उहाँले बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिलाई गहिरो रूपमा विश्लेषण गर्दै राष्ट्रिय हित र स्थायित्वलाई केन्द्रमा राखेर जिम्मेवार ढंगले अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

प्रकाशित मिति: १८ माघ २०८२, आइतबार  १६ : ४४  बजे