रहेनन् पत्रकार दिनेश सिटौला

काठमाडौं, १८ माघ। पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको छ। उहाँ एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक प्रकार) बाट पीडित रहनुभएको थियो।

अछाममा रहँदा अचानक बेहोस भएर ढल्नुभएपछि उहाँलाई शुक्रबार उपचारका लागि काठमाडौं ल्याइएको थियो। ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भेन्टिलेटरमा राखी उपचार भइरहेको अवस्थामा चिकित्सकहरूले आज दिउँसो १२ः४५ बजे उहाँलाई मृत घोषणा गरेका हुन्।

स्वर्गीय सिटौलाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको छ। ४३ वर्षको उमेरमा निधन हुनुभएका उहाँ अविवाहित हुनुहुन्थ्यो। उहाँका पिता, एक दिदी र दुई दाजुभाइ रहनुभएको छ।

चलचित्र पत्रकार संघका पूर्वअध्यक्षसमेत रहनुभएका सिटौलाले सयौँ नेपाली चलचित्रहरूको प्रचार–प्रसार (प्रमोशन) मा महत्वपूर्ण योगदान दिनुभएको थियो। नेपाली चलचित्र पत्रकारितामा उहाँको योगदान स्मरणीय मानिन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को चुनावी अभियानका क्रममा उहाँको टोलीसँगै सिटौला अछाम पुग्नुभएको थियो।

पत्रकार सिटौलाको निधनले नेपाली पत्रकारिता र चलचित्र क्षेत्रले एक सक्रिय र समर्पित व्यक्तित्व गुमाएको छ।

प्रकाशित मिति: १८ माघ २०८२, आइतबार  १४ : २७  बजे