डोटी, १७ माघ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा डोटी जिल्लाबाट नेकपा (एमाले) का उम्मेदवार दीपक धामी बलियो दाबेदारका रूपमा उभिनुभएको छ । गाउँ–गाउँमा बढ्दो जनसमर्थन, संगठनात्मक मजबुती र स्पष्ट राजनीतिक एजेन्डाका कारण उहाँको जित लगभग सुनिश्चित देखिन थालेको छ ।
स्थानीय तहदेखि जिल्लास्तरसम्म एमालेको सांगठनिक सञ्जाल सशक्त रहँदै आएको डोटीमा यसपटक धामीको उम्मेदवारीले पार्टी कार्यकर्ता मात्र होइन, स्वतन्त्र मतदातालाई समेत उत्साहित बनाएको छ । विकास, रोजगारी र पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेर अघि बढ्नुभएको धामीको चुनावी एजेन्डाले मतदातामा भरोसा जगाएको छ ।
चुनावी सभाहरूमा देखिएको भीड, घरदैलो अभियानमा प्राप्त सकारात्मक प्रतिक्रिया र युवा मतदाताको आकर्षणले धामीको पक्षमा माहोल स्पष्ट रूपमा बलियो बन्दै गएको स्थानीयको भनाइ छ । “यसपटक डोटीले नयाँ तर सक्षम नेतृत्व पाउने पक्का छ,” एक स्थानीय मतदाताले बताए ।
एमाले नेतृत्वले समेत धामीलाई अनुशासित, सक्रिय र जनतासँग नजिक रहने नेता भएको भन्दै पूर्ण समर्थन जनाउँदै आएको छ । जिल्लामा लामो समयदेखि देखिएको विकासको अभाव अन्त्य गर्न सक्ने क्षमतावान उम्मेदवारका रूपमा धामीलाई हेरिन थालेको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार डोटीमा एमालेको परम्परागत मताधार, संगठित कार्यकर्ता र धामीप्रति बढ्दो जनविश्वासले निर्वाचन परिणाम एमालेको पक्षमा जाने संकेत गरिसकेको छ । चुनाव नजिकिँदै जाँदा धामीको पक्षमा लहर झन् मजबुत बन्दै गएको देखिन्छ ।









प्रतिक्रिया