काठमाडौं, १७ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले ओखलढुंगाबाट युवा महिला नेतृ अस्मिता थापालाई उम्मेदवार बनाएर पठाएको र उनलाई पूर्ण भरोसा रहेको उल्लेख गर्नुभएको छ।
शनिबार काठमाडौंमा ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “जिल्लाको विकास र जनताको समस्या बुझ्ने योग्य युवा नेतृलाई उम्मेदवार बनाएर पठाएका छौं। ओखलढुङ्गाले अस्मितालाई जिताएर देशको विकासमा योगदान दिनुपर्छ। अस्मिताले कुनै गलत काम गर्ने छैनन्, अवसर नपाए पार्टी छाड्ने छैनन्, जनताको मतको दुरुपयोग गर्ने छैनन्। यस विकासको जिम्मा म स्वयं लिन्छु।”
उम्मेदवार अस्मिता थापाले आफूबाट ओखलढुङ्गाका जनताले दिएको मत जनकल्याणका लागि प्रयोग हुने र आफू जनताको सेवा, विकास तथा जिम्मेवार नेतृत्वमा प्रतिबद्ध हुने स्पष्ट गर्नुभयो।
“मैले स्थानीय तहमा काम गरेर जनताको भावना बुझें। भाषण गरेर होइन, काम गरेर प्रमाणित हुन चाहन्छु। युवाको आवाज बनेर युवामैत्री नीति–नियम बनाउने मेरो भूमिका रहनेछ। युवालाई साइबर सेना होइन, योग्य र सक्षम नागरिक बनाउने अभियानमा मेरो योगदान हुनेछ,” उहाँले भन्नुभयो।
थापाले जिल्लाका प्राकृतिक स्रोत र वनजंगलको सदुपयोग गर्दै आयआर्जनका माध्यम बनाउने प्रतिबद्धता व्यक्त गर्दै, ओखलढुङ्गाको पूर्व–पश्चिम सडक जस्ता विकास परियोजनामा नेतृत्वदायी भूमिका निर्वाह गर्ने आश्वासन दिनुभयो।
“पश्चिमी भेगको रामेछापसँग जोडिएको सडक वर्षौंदेखि अलपत्र छ। अब केवल माग गर्ने होइन, नेतृत्वबाट काम अघि बढाउनेछौँ,” उहाँले बताउनुभयो।
कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य तथा ओखलढुंगा जिल्ला इन्चार्ज यज्ञराज सुनुवारले युवा महिला उम्मेदवार पाउँदा जिल्लामा उत्साह रहेको र पार्टीको विजय सुनिश्चित भएको बताउनुभयो।यस्तै, युवा संघका अध्यक्ष महाराज गुरुङ, जिल्ला नेताहरू किशोर अधिकारी, नानीबाबु बुढाथोकीलगायतले युवा उम्मेदवारमार्फत जनताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको जानकारी दिनुभयो।










प्रतिक्रिया