आईसीसी टी–२० वरीयतामा सन्दीप र ललितको उल्लेख्य सुधार

काठमाडौं, ११ असार ।आईसीसी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालका सन्दीप लामिछाने र ललित राजवंशीले उल्लेख्य सुधार गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० को पछिल्लो टी–२० वरीयताको बलिङतर्फ सन्दीप ४१ स्थान सुधार गर्दै ७५औं र ललित २९ स्थान सुधार गर्दै ५४औं स्थानमा आइपुगेका छन् । यस्तै दीपेन्द्रसिंह ऐरी ८१औं स्थानमा छन् । यो वरीयतामा न्युजिल्यान्डका ज्याकब डफी शीर्ष, इङ्ग्ल्यान्डका आदिल रशिद दोस्रो र भारतका वरुण चक्रवर्ती तेस्रो स्थानमा यथावत् छन् ।

टी–२० ब्याटिङ वरीयतामा कुशल भुर्तेल १० स्थान सुधार गर्दै ८३औं स्थानमा आइपुगेका छन् । यस्तै दीपेन्द्रसिंह ऐरी ६१औं, रोहित पौडेल ६६औं र आसिफ शेख ७८औं स्थानमा छन् । यो वरीयतामा अस्ट्रेलियाका ट्राभिस हेड शीर्ष, भारतका अभिषेक शर्मा दोस्रो र भारतकै तिलक वर्मा तेस्रो स्थानमा यथावत् छन् ।

टी–२० अलराउन्डर वरीयतामा कुशल भुर्तेल ६ स्थान सुधार गर्दै ३२औं स्थानमा आइपुगेका छन् । यस्तै दीपेन्द्रसिंह ऐरी तेस्रो, गुल्सन झा ६१औं, रोहित पौडेल ६६औं, कुशल मल्ल ६८औं, करण केसी ८१औं स्थानमा छन् । यो वरीयतामा भारतका हार्दिक पान्ड्या शीर्ष, अस्ट्रेलियाका मार्कस स्टोइनिस दोस्रो स्थानमा यथावत् छन् । टी–२० वरीयतामा नेपाल १८औं स्थानमा यथावत् छन् ।

प्रकाशित मिति: ११ असार २०८२, बुधबार  २२ : १०  बजे