काठमाडौँ, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुश्री तोसिमा कार्कीलाई जेनजी आन्दोलनमा सहभागी तथा घाइते युवाहरूले शुक्रबार साँझ काठमाडौंको माइतीघरमा विरोध जनाएका छन्।
मत माग्ने उद्देश्यले माइतीघर पुगेकी नेतृ कार्कीलाई घाइते युवाहरूले २०८४ मा हुनुपर्ने निर्वाचन २०८२ मै सार्नका लागि मात्रै जेनजी आन्दोलनमा बगेको रगत प्रयोग गरिएको हो कि होइन भन्दै प्रश्न गरेका थिए। फागुन २१ गतेको निर्वाचनपछि पनि आफूहरूलाई न्याय नपाउने आशंका व्यक्त गर्दै उनीहरू आक्रोशित बनेका हुन्।
विरोधका क्रममा नेतृ कार्कीले जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदप्रति श्रद्धासुमन अर्पण गर्दै घाइतेहरूप्रति सधैं सम्मान व्यक्त गर्ने बताउनुभयो। उहाँले जेनजी आन्दोलन सुशासन र भ्रष्टाचारविरुद्ध स्पष्ट म्याण्डेटका साथ अघि बढेको आन्दोलन भएको उल्लेख गर्दै रास्वपा पनि सोही उद्देश्यमा अडिग रहेको दाबी गर्नुभयो।
नेतृ कार्कीका अनुसार जेनजी आन्दोलन नागरिकको हितका लागि भएको हो र जनताको पक्षमा काम गर्ने सरकार निर्माणका लागि निर्वाचन अपरिहार्य छ। उहाँले लोकतान्त्रिक प्रक्रियाबाटै परिवर्तन सम्भव हुने धारणा व्यक्त गर्नुभयो।
तर सहिदको सम्झनामा दीप प्रज्वलन गर्ने क्रममा नेतृ कार्की पार्टीको झण्डासहित माइतीघर पुगेको विषयलाई लिएर जेनजी आन्दोलनका घाइते युवाहरूले असन्तुष्टि जनाएका थिए। उनीहरूले आन्दोलनको पीडामाथि राजनीतिक स्वार्थ थोपर्ने प्रयास भएको आरोप लगाए।
जेनजी आन्दोलनका घाइते अभियशेक श्रेष्ठले भन्नुभयो, “हामी हिजो भिक माग्न आएका थिएनौं, गोली खान आएका पनि थिएनौं। हामी लड्न आएका हौं। को अगाडि छ भन्ने मतलब छैन, न्याय नपाउँदासम्म हाम्रो संघर्ष जारी रहन्छ।”
उहाँले रास्वपामा प्रवेश गरेका सुदन गुरुङलाई संकेत गर्दै नयाँ पार्टी र नयाँ अनुहारहरूले साँच्चिकै न्याय दिन नखोजी उम्मेदवार बन्ने उद्देश्य मात्र राखेको आरोप लगाउनुभयो। “देशलाई निकास दिन चाहन्थे भने उनीहरू सदनभन्दा सडकमा हुन्थे,” उहाँले भन्नुभयो।









प्रतिक्रिया