काठमाडौँ, १६ माघ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको अभियान मन नपराउने केही वर्ग र तत्त्वका कारण आफू सरकारबाट बाहिरिन बाध्य भएको बताउनुभएको छ।
रुकुम पूर्व–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा चालेका कदमहरू केही शक्तिलाई असहज बनेको दाबी गर्नुभयो।
उहाँले प्रधानमन्त्री रहँदा भ्रष्टाचारविरुद्ध निर्मम अभियान चलाएको तथा सामाजिक विभेद अन्त्यका लागि ठोस प्रयास गरेको स्मरण गर्नुभयो। राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिसँग सन्तुलित सम्बन्ध कायम गर्दै मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउने क्रममा ती अभियान मन नपराउने समूह सक्रिय भई सरकार ढालिएको उहाँको जिकिर छ। अधुरा रहेका सुशासन र समृद्धिका अभियान पूरा गर्न जनताको साथ र कार्यकर्ताको दृढता अपरिहार्य रहेको उल्लेख गर्दै संयोजक प्रचण्डले पुनः जनताको बीचमा जान लागेको स्पष्ट पार्नुभयो।
आगामी निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार बन्ने निर्णयको कारण खुलाउँदै उहाँले यो केवल निर्वाचन क्षेत्र परिवर्तनको विषय मात्र नभएको बताउनुभयो। रुकुम पूर्व जनयुद्धको केन्द्रीय आधार इलाका भएको र ऐतिहासिक चुनवाङ बैठकबाटै नेपालमा गणतन्त्रको शंखघोष गरिएको स्मरण गराउँदै उहाँले उक्त बैठकले महिला, दलित, जनजाति र उत्पीडित वर्गलाई अधिकार सम्पन्न बनाउने नीति पारित गरेको उल्लेख गर्नुभयो। पार्टी इतिहासका अविस्मरणीय ‘लाभाङ बैठक’ र हुकाम–मैकोटको प्रतिरोधको विरासतलाई सम्मान गर्न आफू रुकुम पूर्व जान लागेको उहाँको भनाइ छ।
देश अहिले ‘जेनजी’ आन्दोलनसहित विभिन्न विध्वंसका घटनापछि जटिल मोडमा पुगेको उल्लेख गर्दै संयोजक प्रचण्डले राष्ट्रलाई एकताबद्ध गर्न र आन्दोलनलाई नयाँ उचाइ दिन रुकुम पूर्व रोज्नुपरेको बताउनुभयो।
उहाँले भोट माग्न वा चुनाव जित्नका लागि मात्र रुकुम पूर्व नजान लागेको दाबी गर्दै त्यहाँ विकास, उत्पादन र रोजगारीको नयाँ मोडेल खडा गरेर समाजवादको भ्रूण विकास गर्ने योजना अघि सार्नुभयो। जडीबुटी, पर्यटन, अर्ग्यानिक कृषि र आधुनिक भेडा पालनमार्फत हजारौँ युवालाई रोजगारी दिएर समाजवादको आधार तयार गर्ने सपना रहेको उहाँले सुनाउनुभयो।
तेस्रो पटक प्रधानमन्त्री हुँदा जनयुद्धका सहिद तथा बेपत्ता योद्धाहरूलाई राष्ट्रिय सहिद घोषणा गरी राजपत्रमा प्रकाशित गरिएको तथा पीडित परिवारलाई रोजगारी र आर्थिक परिपूरण दिने विधेयक तयार पारिएको जानकारी दिँदै संयोजक प्रचण्डले उक्त विधेयकको कार्यान्वयन आधार इलाकाबाटै सुरु गर्न र सहिद तथा घाइतेहरूलाई उच्च सम्मान दिन आफू रुकुम जानुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो।
संयोजक प्रचण्डले आफ्नो जीवनको बाँकी समय राष्ट्र, सुशासन र समाजवादका निम्ति समर्पित गर्ने सङ्कल्प लिएको बताउँदै रुकुम पूर्वका जनताको भावना, चाहना र विकास आकांक्षालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।









प्रतिक्रिया