रूपन्देही, १५ माघ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री माननीय प्रदीप ज्ञवालीले निर्वाचनमार्फत ‘नायक’ खोज्ने प्रवृत्ति र पपुलिजमको लहरले मुलुकलाई दीर्घकालीन निकास नदिने स्पष्ट धारणा व्यक्त गर्नुभएको छ।
लोकतन्त्रविरुद्ध भइरहेका गतिविधि नियन्त्रण हुनुपर्नेमा जोड दिँदै उहाँले गलत भाष्य निर्माण गरेर चुनावी प्रक्रियालाई प्रभावित गर्ने प्रयास भइरहेको आरोप लगाउनुभयो। गुल्मी क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका ज्ञवाली बिहीबार रूपन्देहीमा बसोबास गर्ने गुल्मेली मतदातासँग भेटघाटका क्रममा बुटवल आइपुग्नुभएको हो।
सो अवसरमा प्रेस चौतारी रूपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले हाल भएका विकासका प्रयासप्रति नकारात्मक धारणा सिर्जना गर्दै ‘सपना बेच्ने’ र ‘नायक खोज्ने’ भाष्य जबर्जस्ती निर्माण भइरहेको बताउनुभयो।
“समाजमा नायक खोज्ने भाष्य सिर्जना गरिएको छ, तर यसले देशलाई निकास दिँदैन,” उहाँले भन्नुभयो, “गलत भाष्य बनाएर चुनावी अल्गोरिदमको खेल भइरहेको छ।”
माननीय ज्ञवालीले समाजको वस्तुगत अवस्था एकातिर रहँदा सामाजिक सञ्जालमा हावादारी प्रचार व्यापक बन्दै गएको उल्लेख गर्नुभयो। “पपुलिजमको वेभले देशलाई निकास दिँदैन,” उहाँले स्पष्ट पार्नुभयो।
मुलुकलाई प्रयोगशाला बनाउने खेल भित्रभित्रै चलिरहेको दाबी गर्दै उहाँले २०८४ को निर्वाचनलाई २०८२ मा सारेर वा प्रधानमन्त्री परिवर्तन गर्दैमा रातारात ‘नयाँ नेपाल’ निर्माण नहुने तर्क प्रस्तुत गर्नुभयो।
“कहिले माओवादीका नाममा, कहिले पहिचानका नाममा र कहिले नयाँ पुस्ताको नाममा देशलाई प्रयोगशाला बनाउने प्रयास भइरहेको छ,” उहाँले भन्नुभयो, “अबको निर्वाचनले यस्ता प्रयोगको अन्त्य गर्नुपर्छ।”
माननीय ज्ञवालीज्यूले निर्वाचनका लागि सरकारले शान्ति–सुरक्षाको विश्वसनीय वातावरण बनाउन नसकेकोतर्फ पनि ध्यानाकर्षण गराउनुभयो। “फरार कैदीबन्दी र लुटिएका करिब ७ सय आधुनिक हतियार अझै बाहिरै छन्,” उहाँले भन्नुभयो, “यस्ता हतियार प्रतिकूल राजनीतिक दलविरुद्ध प्रयोग नहुने सुनिश्चित वातावरण अझै बनेको छैन।”
हिमाली क्षेत्रमा मौसमको प्रतिकूलताका कारण निर्वाचन चुनौतीपूर्ण हुनसक्ने उल्लेख गर्दै उहाँले संसद् पुनःस्थापनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ढिलाइ नगरी फैसला गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
“संवैधानिक र कानुनी दृष्टिले संसद् विघटन गलत हो,” उहाँको भनाइ थियो, “बहुमत सांसद संसद् पुनःस्थापनाको पक्षमा उभिएको अवस्थामा यस्तो संवैधानिक मुद्दामा शीघ्र निर्क्योल आवश्यक छ।”
गुल्मी क्षेत्र नम्बर–१ अन्तर्गतका छ वटा स्थानीय तहमा मतदाता भेटघाट सम्पन्न गरी बुटवल आइपुग्नुभएका माननीय ज्ञवालीज्यू बुटवलपछि काठमाडौंमा रहेका गुल्मेली मतदातासँग पनि भेटघाट गर्ने तयारीमा रहनुभएको छ।









प्रतिक्रिया