काठमाडौं, १० माघ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयमा कुनै खालका गलत प्रवृत्ति स्वीकार्य नहुने बताउनुभएको छ । बागलुङ बजारमा उच्च अदालत पोखरा बागलुङ इजलासको नवनिर्मित भवनको उद्घाटन गर्दै उहाले न्यायिक प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउन अवरोध सिर्जना गर्ने कुनै पनि गलत प्रवृत्ति स्वीकार्य नहुने बताउनुभएको हो ।
‘कानुन व्यवसायी र न्यायाधीशको सम्बन्ध नितान्त व्यवसायिक हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘हामीले कठोर तरिकाले आत्म समीक्षा थालेका छौँ । हाम्रो व्यवसायिक सम्बन्धलाई धुमिल पार्ने कुनै पनि ‘रङ एलिमेन्ट टलरेट’ गर्दैनौं ।’ उहाँले सबैले आफ्नो मर्यादामा बसेर न्यायिक सम्पादन प्रक्रियामा सहयोग गर्नुपर्ने बताउनुभयो।
उहाँले भदौ २३ र २४ गतेको आन्दोलनमा अदालत जलेको नभइ जलाइएको पनि बताउनुभयो । ‘अदालत जलेको होइन नियोजित रुपमा जलाइएको छ, यो कुरा सबैलाई थाहा छ,’ उहाँले भन्नुभयो , ‘अहिले हामी उठिसकेका छौं । नागरिकको न्याय पाउने अधिकार रक्षा गर्न हामी संघर्ष गरेर अगाडि बढेका छौं ।’
अदालत जलाउँदा सर्वोच्चमा रहेको २२ हजार मिसिल जलेको अहिलेसम्म १४ हजार मिसिल प्राप्त भैसकेको उाँहले जानकारी दिनुभयो ।
‘कानुन व्यवसायीबाट सहयोग लिएर जलेका मिसिल संकलन गर्ने काम गरिरहेका छौं, अहिलेसम्म १४ हजार मिसिल प्राप्त भैसकेको छ,’ उहाँले भन्नुभयो, ‘देशलाई कानुनबिहीनता र न्याय प्रति अविश्वास जगाउने गरी आगो लगाउने काम भएको हो,’ उहाँले थप भन्नुभयो ,‘पाँच हजार जति सरकारी वकिल कार्यालयसँग छ हामी ल्याउँछौं । अब अदालत नियमित काममा फर्किसकेको छ ।’
आन्दोलनका क्रममा सर्वोच्च अदालतसहित २३ वटा अदालतमा क्षति पुगेको समेत उहाँले बताउनुभयो । अदालतमा आगलागी भएपछि अब गम्भीर समीक्षाको आवश्यकता देखिएको उहाको भनाइ छ।









प्रतिक्रिया