जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतारचढाव

टोकियो, ९ माघ । जापानको उपभोक्ता मूल्य सूचकाङ्क सन् २०२५ मा औसत ३.१ प्रतिशतले वृद्धि भएको छ । यो लगातार चौथो वर्ष हो जब जापानमा उपभोक्ता मूल्य बढेको सरकारी तथ्याङ्कले आज देखाएको छ । सरकारी तथ्याङ्कअनुसार सन् २०२५ भरि चामलको मूल्य ६७.५ प्रतिशतले बढेको छ, जुन सन् १९७१ पछि उपलब्ध तुलनात्मक तथ्याङ्कमा सबैभन्दा ठूलो वृद्धि हो ।

चामलको मूल्य वृद्धिले जापानको खाद्य मूल्यवृद्धिमा ठूलो प्रभाव पारेको छ । डिसेम्बर महिनामा ताजा खाद्य वस्तु हटाएर गणना गरिएको उपभोक्ता मूल्य सूचकाङ्क अघिल्लो वर्षको तुलनामा २।४ प्रतिशतले बढेको छ । यो नोभेम्बरको ३ प्रतिशत वृद्धिदरभन्दा कम हो र पछिल्ला चार महिनामा पहिलोपटक वृद्धिदर सुस्ताएको देखिन्छ ।

मूल्य वृद्धिमा केही स्थिरीकरण ल्याउन सरकारले पेट्रोलियम पदार्थमा अनुदान दिएको तथ्याङ्कले देखाएको छ । उक्त महिनामा ऊर्जा मूल्य अघिल्लो वर्षको तुलनामा ३.१ प्रतिशतले घटेको छ, जुन नोभेम्बरमा देखिएको २.५ प्रतिशतको वृद्धिदरबाट उल्टिएको हो ।

यद्यपि, ताजा खाद्यवस्तु बाहेकका खाद्य सामग्रीको मूल्य भने ६.७ प्रतिशतले बढेको छ, जुन नोभेम्बरको ७ प्रतिशत वृद्धिदरभन्दा कम हो । ऊर्जा तथा ताजा खाद्य वस्तु दुवै हटाएर आधारभूत मूल्य डिसेम्बरमा २.९ प्रतिशतमा सीमित भएको छ, जुन एक महिनाअघि ३ प्रतिशत थियो ।

यसले सङ्केत गर्छ कि जापानको मूल्य वृद्धिमा केही स्थिरीकरण आउँदैछ, तर खाद्य र अन्य आवश्यक वस्तुको मूल्य अझै उच्च छ । विश्लेषकका अनुसार, यो मूल्य वृद्धिले जापानको अर्थतन्त्रमा दीर्घकालीन मुद्रास्फीति र जीवनयापन खर्चमा दबाब बढाउन सक्छ । सरकारले आगामी आर्थिक नीतिमा मूल्यवृद्धिको नियन्त्रण र उपभोक्ताको भार कम गर्ने उपायमा ध्यान दिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार  १५ : ५४  बजे