एमाले प्रवेशलगत्तै पूर्वमन्त्री प्रदीप यादवको पर्सा–१ बाट उम्मेदवारी दर्ता, जित्ने सम्भावना बलियो

पर्सा, ६ माघ । पूर्वमन्त्री प्रदीप यादवले पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। दलबलसहित जिल्ला समन्वय समिति पर्साको कार्यालय पुगेर उनले औपचारिक रूपमा मनोनयन दर्ता गराउनु भएको हो।

मधेश आन्दोलनको पृष्ठभूमिबाट राजनीतिमा उदाएका यादव पर्सा जिल्लामा प्रभावशाली र स्थापित नेताका रूपमा परिचित हुनुहुन्छ। उहाँ हालसम्म तीनपटक मन्त्री भइसक्नुभएको छ भने २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा जनता समाजवादी पार्टी नेपालबाट लगातार दुईपटक विजयी भएका अनुभवी नेता हुनुहुन्छ। लामो समयदेखि पर्सा–१ मा आफ्नो बलियो संगठन, जनआधार र राजनीतिक पकड बनाउँदै आउनुभएका यादवले गत आइतबार मात्रै नेकपा एमाले प्रवेश गरेसँगै यस क्षेत्रको चुनावी समीकरण थप रोचक बनेको छ। एमाले प्रवेशसँगै यादवको उम्मेदवारीलाई जितमुखी रूपमा हेरिन थालेको छ। पर्सा–१ मा उनको व्यक्तिगत लोकप्रियता, मधेश आन्दोलनबाट बनेको राजनीतिक छवि र अघिल्ला दुई निर्वाचनमा प्राप्त स्पष्ट जनमतले उहाँलाई बलियो दाबेदार बनाएको विश्लेषण भइरहेको छ।

यसमा थप एमालेको संगठित संरचना, केन्द्रदेखि स्थानीय तहसम्मको पार्टी संयन्त्र र चुनावी परिचालन क्षमताले यादवको उम्मेदवारीलाई अझ मजबुत बनाएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार यादवको एमाले प्रवेश केवल पार्टी परिवर्तन मात्र होइन, पर्सा–१ को चुनावी परिणामलाई प्रभावित गर्ने निर्णायक मोड हो। यसअघि जसपाबाट प्राप्त मताधारसँगै एमालेको स्थायी मत आधार जोडिँदा यादवको पक्षमा बलियो गठजोड बनेको देखिन्छ। विशेषगरी शहरी तथा ग्रामीण दुवै क्षेत्रमा उहाँको पहुँच, विकास र सेवा केन्द्रित राजनीतिक शैली र मन्त्रीकालमा बनाएको सम्बन्धले मतदातामा सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै यादवले आफू पर्सा–१ का जनताको भरोसा र अपेक्षालाई सम्मान गर्दै अघि बढ्ने बताउनुभयो । “मैले यस क्षेत्रका जनतासँग निरन्तर सम्बन्ध राख्दै आएको छु। एमालेको राष्ट्रिय दृष्टिकोण र संगठनसँग मिलेर पर्सा–१ को विकास र समृद्धिका लागि काम गर्ने प्रतिबद्धता लिएर चुनावी मैदानमा आएको छु,” उहाले भन्नुभयो ।

स्थानीय स्तरमा समेत यादवको उम्मेदवारीलाई बलियो मानिएको छ। एमालेका स्थानीय नेता–कार्यकर्ताहरू उत्साहित देखिएका छन् भने उनका समर्थकहरू यस निर्वाचनमा स्पष्ट जितको अपेक्षामा छन्। विगतका चुनावी नतिजा, राजनीतिक अनुभव र वर्तमान शक्ति सन्तुलन हेर्दा पर्सा–१ मा पूर्वमन्त्री प्रदीप यादवको जितको सम्भावना निकै प्रबल देखिएको छ। एमाले प्रवेशपछि पहिलो निर्वाचनमै उम्मेदवार बनेका यादवले पर्सा–१ मा पुनः एकपटक आफ्नो राजनीतिक प्रभाव पुष्टि गर्ने संकेत देखिएको छ। अब चुनावी मैदानमा उनको प्रदर्शनले मात्र होइन, समग्र मधेश राजनीतिमा समेत यसको असर पर्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार  १५ : १४  बजे