धनगढी, ५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली –५, बाट आनन्दबहादुर चन्दलाई उम्मेदवार बनाएको छ।
चन्द काठमाडौंका पूर्वमेयर तथा रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन शाहका निकटस्थ हुनुहुन्छ । चन्दले काठमाडौं महानगरपालिकामा बालेन शाहको कार्यकालमा शिक्षा, वातावरण र स्वास्थ्य क्षेत्रका नीति तथा कार्यक्रम निर्माणमा सहयोग गर्नुभएको थियो। त्रिभुवन विश्वविद्यालयका विज्ञान संकायका उपप्राध्यापक हुनुभएका चन्दले रसायन शास्त्रमा बिद्यावारिधि गर्नुभएको छ । चन्दले रास्वपाबाट आफूले टिकट पाएको बताउँदै कैलालीको विकास र सुशासनको सपनालाई मूर्त रूप दिन आफू कैलाली आएको बताउनुभएको छ ।
कैलाली – ५, को समृद्धि, विकासका लागि आफ्नो एजेन्डा केही दिनमा पत्रकार सम्मेलन गरेरै सार्वजनिक गर्ने बताउनुभएको छ ।
को हुनुहुहुन्छ त आनन्द चन्द ?
आनन्द चन्द शिक्षा, विज्ञान, सुशासन र जनस्वास्थ्यको क्षेत्रमा दशकौँदेखि काम गर्दै आएका अभियन्ता हुनुहुन्छ ।
बैतडीमा जन्मिनुभएका चन्दको परिवार पछि कैलाली झरेको थियो। उहाँको घर धनगढी उपमहानगरपालिका– ८ मा रहेको छ।
सुदूरपश्चिमको पीडा, सम्भावना र आवश्यकतालाई नजिकबाट बुझ्नु भएका उहाँ सुदूरपश्चिमको विकास र देशको रूपान्तरणका लागि राजनीतिमा लागेको बताउँनुहुन्छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन बहुमुखी क्याम्पसमा १७ वर्षभन्दा बढी समय उपप्राध्यापक का रूपमा उहाँले सेवा गर्नूभएको छ । जैविक रसायनशास्त्रमा स्नातकोत्तर गर्नुभका उहाँले त्रिभुवन विश्वविद्यालय र अमेरिकाको नर्थ क्यारोलिना ए इन्ड टीस्टेट युनिभर्सिटीको सहकार्यमा पीएचडी सम्पन्न गर्नूभएको छ ।
अध्ययन तथा अनुसन्धानमा सक्रिय उहाँका अनुसन्धान अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन्। चन्द नेपालको सुर्तिजन्य पदार्थ नियन्त्रण र नसर्ने रोगविरुद्धको अभियानका अग्रणी अभियन्ता हुनुहुन्छ। उहाँले नेपालका नीति निर्माणमा मात्रै भूमिका खेल्नुभएको मात्र हैन , आयरल्यान्ड, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, बेलायत, मेक्सिको, इन्डोनेसिया लगायत विश्वका ठूला सम्मेलनहरूमा नेपाल प्रतिनिधित्व गर्नूभएको छ । सुर्तीजन्य पदार्थमा चित्रसहित चेतावनी, धूम्रपान निषेध कानुन, सुर्तीजन्य पदार्थको विज्ञापन नियन्त्रणजस्ता नीतिमा सरकारलाई सघाउने मात्र होइन, दबाब पनि दिने कार्य गर्नुभएको छ । नेपाल खाद्य संस्थान जस्तो संस्थाको अध्यक्ष भएर सुधारका काम गर्नुभएको छ। उहाँ बीपी कोइराला मेमोरियल प्लान्टेरियम अब्जरभेटरी एन्ड साइन्स म्युजियम विकास बोर्डका कार्यकारी निर्देशक भएर काम गरि सक्नुभएको छ ।









प्रतिक्रिया