प्रचण्डले रुकुम पश्चिममा गएर आफूलाई ललकारेलगत्तै गुण्डु पुगेर जनार्दनले भेटे एमाले अध्यक्ष

काठमाडौं, १ माघ । माओवादी केन्द्र छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टीको अभियान चलाइरहेका नेता जनार्दन शर्माले नेकपा एमालेसँग चुनावी सहकार्यको प्रस्ताव गर्नुभएको छ । डा. बाबुराम र जनार्दन शर्मा संरक्षक भएर पछिल्लो समय प्रलोपा गठन भएको छ ।

प्रलोपाका एक नेताका अनुसार शर्माले हालै गुण्डु पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको हो । प्रचण्डले रुकुम पश्चिममा गएर आफूलाई ललकारेलगत्तै शर्मा गुण्डु पुग्नुभएको हो । ओली र शर्माबीचको वार्ता एक्ला एक्लै भएकाले धेरै सूचना बाहिर ल्याइएको छैन ।

स्रोतका अनुसार शर्माले निश्चित ठाउँमा चुनावी सहकार्य गर्ने प्रस्ताव राखेका छन् । ओली पनि प्रचण्डलाई साइजमा राख्न शर्मा र नेत्रविक्रम चन्द विप्लवलाई कतिपय क्षेत्रमा सघाउन सकारात्मक रहेको बताइन्छ । विशेषगरी रुकुम पश्चिममा जनार्दन शर्मालाई सघाउन ओली सकारात्मक हुनुहुन्छ ।

सकेसम्म सूर्य चिह्नबाटै चुनाव लड्न एमालेले शर्मालाई आग्रह गरेको छ । शर्माको पार्टीको चुनाव चिह्न भने आँखा छ । रुकुम,रोल्पा,कालिकोटलगायतका कतिपय जिल्लामा एमालेले जनार्दन शर्मा,नेत्रविक्रम चन्दगायतका समूहलाई साथमा लिएर चुनावमा जाने सम्भावना कायमै रहेको नेताहरुले बताएका छन् ।

प्रकाशित मिति: १ माघ २०८२, बिहिबार  १५ : २८  बजे