इरानसँगको तनाव चर्कँदै गएपछि मध्यपूर्वका सैन्य बेसबाट अमेरिकी कर्मचारी फिर्ता

काठमाडौं, १ माघ । इरानले छिमेकी देशमा रहेका अमेरिकी सैन्य बेसहरूमा प्रतिआक्रमण गर्ने चेतावनी दिएपछि मध्यपूर्वमा तनाव तीव्र बनेको छ ।

यसैबीच, अमेरिकाले बढ्दो क्षेत्रीय जोखिमलाई ध्यानमा राख्दै कतिपय सैन्य बेसबाट कर्मचारी फिर्ता गर्न थालेको रोयटर्सले जनाएको छ । पश्चिमी सैन्य स्रोतका अनुसार अमेरिकी आक्रमणको संकेत देखिए पनि यसको समय र दायरा स्पष्ट छैन ।इरानभित्रको व्यापक विरोध प्रदर्शनमा अहिलेसम्म २ हाजर ५ सय जनाको ज्यान गइसकेको छ भने ठूलो संख्यामा मानिसहरू पक्राउ परेका खबरमा उल्लेख छ ।यसैबीच एम्नेस्टी इन्टरनेशनलले पछिल्लो एक हप्तामा इरानमा शान्तिपूर्ण प्रदर्शनकारी र सर्वसाधारणविरुद्ध गैरकानुनी सामूहिक हत्या भएको प्रमाण फेला पारेको जनाएको छ ।

इरानमा दूरसञ्चार सेवा लगातार सातौँ दिन पनि लगभग पूर्ण रूपमा बन्द रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।जी–सेभेन राष्ट्रका विदेशमन्त्रीहरूले ज्यान गुमाउने र घाइतेको ठूलो संख्या गहिरो चिन्ता व्यक्त गर्दै दमन जारी रहे थप प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।इरानी राष्ट्रपति मसुद पेजेश्कियानले गम्भीर आर्थिक अवस्थाबारे नागरिकको माग सुन्नुपर्ने बताउनुभएको छ भने रक्षामन्त्री अजीज नासिरजादेहले आक्रमण भए अन्तिमसम्म देशको रक्षा गर्ने चेतावनी दिएका खबरमा उल्लेख छ ।

प्रकाशित मिति: १ माघ २०८२, बिहिबार  ०८ : ०१  बजे