खाली खुट्टा काठमाडौं आएका नवराजले भेटे प्रधानमन्त्री, अब जुत्ता लगाउने भन्दै भए खुसी

काठमाडौं, ८ असार । सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौं आएका अभियानकर्मी नवराज बोहराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नुभएको छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनले आफूले अभियान र यात्राका क्रममा देखेका अनुभव बताउनुभएको थियो । यस्तै, उहाँले उपचार नपाएका बालबालिकाका समस्या र समस्या समाधानका लागि गरिएका पहलबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलागयत मुद्दा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेका बोहरा ३१ औँ दिनमा असार ३ गते काठमाडौं आइपुग्नुभएको थियो । सोही दिन प्रधानमन्त्री ओलीलाई भेट्न खोजेका बोहराले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आज भेटन पाउनुभएको हो ।

प्रधानमन्त्री ओलीले पवित्र भावका साथ अभियान सञ्चालन गर्न सुझाव दिँदै शरीरलाई धेरै दुःख नदिई आफ्नो स्वास्थ्य र परिवारको पनि ख्याल गरेर अघि बढ्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीसँग भेटेपछि बोहराले खुसी व्यक्त गर्दै पहिलो चरणको अभियान पूरा भएकाले अब जुत्ता लगाउने, दाह्री काटेर नयाँ स्वरूपमा अघि बढ्ने बताउनुभयो ।

प्रकाशित मिति: ८ असार २०८२, आइतबार  २० : २०  बजे