सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ निर्वाचन आयोगमा जान्छौँः महामन्त्री शर्मा

काठमाडौं, २९ पुस।  नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ निर्वाचन आयोगमा जाने बताउनुभएको छ ।मंगलवार काठमाडौंमा विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेतृत्व चयन गरिसकेपछि प्रतिनिधिहरु घर फर्किन मिल्ने भएपनि आफूहरु निर्वाचन आयोग जानुपर्ने स्थिति रहेको बताउनुभयो ।

उहाँले निर्वाचन आयोगले विशेष महाधिवेशनले के म्याण्डेट लिएर आयो भनेर पर्खिरहेको हुने जिकिर गर्नुभयो । उहाँले आफूले उम्मेदवारी दिएको र जित्छु भन्ने विश्वास रहे पनि कतिपय अवस्थामा सर्वसम्मत रुपमा आउनुपर्ने स्थिति रहने बताउनुभयो ।उहाँले भन्नुभयो, ‘यहाँबाट नेतृत्व चयन गरिसकेपछि तपाईंहरु कतिपय घर फर्किंदा होला तर हामीलाई निर्वाचन आयोगले पर्खिरहेको हुन्छ । विशेष महाधिवेशनबाट कस्तो नेतृत्व चयन गर्‍यो । के निर्णय लिएर आयो भनेर पर्खिरहेको होला । हामीले निर्वाचन आयोग पनि पुग्नुछ ।

हामीले सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ सबै कुरा गरिसकेको कुरालाई पुर्‍याउनु छ । तपाईंहरु कतिपय साथीलाई लाग्नसक्छ, मैले उम्मेदवारी दर्ता गरेको छु, मैले चुनाव लडेर मज्जैको मतले जित्नसक्छु भन्ने लाग्नसक्छ । तर तपाईंहरुलाई हामीले के भन्नुपर्ने हुनसक्छ भने उम्मेदवारी दर्ता त गर्नुभयो । सर्वसम्मत रुपमा आइदिनुस् भन्नुपर्ने हुनसक्छ ।’ महामन्त्री शर्माले अबको राजनीतिमा जुझारुपन लिएर जानुपर्ने बताउनुभयो ।

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार  २० : ०९  बजे