काठमाडौं, २८ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित टिप्पणी गरेपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले त्यसको कडा प्रतिवाद गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले थापाको आलोचनालाई ‘भूराजनीतिक स्वार्थ’ र ‘दासता’सँग जोडेर टिप्पणी गर्नुभएको छ ।
कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा गगन थापाले एमालेको कार्यशैली र नेतृत्वमाथि प्रश्न उठाउनुभएको थियो । त्यसकै पृष्ठभूमिमा महासचिव पोखरेलले राष्ट्रिय स्वाधीनता र जनताको मनोबलका विषयमा गम्भीर प्रश्नहरू उठाउनुभएको हो । पोखरेलले भूराजनीतिक स्वार्थका अगाडि झुक्नुलाई दासताको संज्ञा दिँदै त्यसका विरुद्ध आवाज उठाउनु नै सच्चा स्वाभिमान भएको जिकिर गर्नुभएको छ।
उहाँले लेख्नुभएको छ, “भूराजनीतिक स्वार्थका सामु लम्सार पर्नु दासता होः त्यसका विरुद्ध आवाज उठाउनु स्वाभिमान हो। विध्वंस, अराजकता र आतंकका सामु झुक्नु कायरता हो, त्यसका विरुद्ध उभिएर जनताको मनोबल उठाउनु साहस हो।” अध्यक्ष ओलीमाथि थापाले गरेको कटाक्षको जवाफ दिँदै पोखरेलले देश संकटमा रहेका बेला उत्सव मनाउन नसकिने तर्क गर्नुभएको छ । संविधान र लोकतन्त्र नै संकटमा परेको बेला जनस्तरमा आक्रोश र पीडा रहेको उल्लेख गर्दै पोखरेलले लेख्नुभएको छ, “जन–जनको हृदय जलिरहेको घडीमा उत्सव कसरी मनाउन सकिन्छ ररु देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लाग्न सक्छन्।”आफ्नो बचाउ गर्ने क्रममा पोखरेलले एमाले कार्यकर्ता र नेतृत्वलाई ‘स्पार्टाकस’सँग तुलना गर्नुभएको छ। उहाँले थप्नुभएको छ, “ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्छन्। ती स्पार्टाकस—जसले स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झण्डा बोकेर आधुनिक विश्वव्यवस्थाको नयाँ आधारशिला निर्माण गर्नेछन्।”









प्रतिक्रिया