काठमाडौं, २८ पुस । नेकपा एमालेले शुक्रबार राजधानी प्रदेश घोषणा गर्ने भएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा शुक्रबार एक समारोहको आयोजना गरी राजधानी प्रदेश संगठन कमिटी घोषणा गर्न लागेको हो। एमालेको सचिवालय बैठकले नारायण सिलवाल (काठमाडौं)को नेतृत्वमा ५ सदस्यीय पदाधिकारी रहेको राजधानी प्रदेश संगठन कमिटीको गठन गरेको छ। पदाधिकारीमा उपाध्यक्ष प्रेम महर्जन (ललितपुर), सचिव मिलन धरेल (उपत्यका विशेष), उपसचिवद्वय शशिजंग थापा (भक्तपुर), वेलिमाया घले (काठमाडौं) रहेका छन्।
एमालेको संशोधित पारित विधान अनुसार काठमाडौं, ललितपुर, भक्तपुर जिल्ला र उपत्यका विशेषअन्तर्गतका ४ जिल्लाको नेतृत्व गर्ने गरी राजधानी प्रदेश संगठन कमिटी गठन भएको हो। राजधानी प्रदेश संगठन कमिटी अन्तर्गतका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरबाट प्रतिनिधित्व गर्ने बागमती प्रदेश कमिटीका सदस्यहरू र उपत्यका विशेष कमिटीका पदाधिकारी र सदस्यहरू राजधानी प्रदेश संगठन कमिटीका सदस्य रहनेछन् ।









प्रतिक्रिया