हेम्स हस्पिटलमा अत्याधुनिक इन्डोस्कोपिक प्रविधि, बिरामी २४ घण्टामै घर फर्कन सक्ने
काठमाडौं । नेपालमा पहिलो पटक अत्याधुनिक इन्डोस्कोपिक प्रविधि इन्डोस्कोपिक सबमुकोसल डिसेक्सन सेवा सुरु गरिएको छ। हेम्स हस्पिटल, धुम्बाराहीमा कार्यरत ग्यास्ट्रोएन्ट्रोलोजिस्ट, हेपाटोलोजिस्ट तथा अन्तर्राष्ट्रिय इन्डोस्कोपिस्ट डा. विवेक कुमार पुर्वेको नेतृत्वमा उक्त सेवा सफलतापूर्वक प्रारम्भ गरिएको हो। डा. पुर्वेका अनुसार ईएसडी जीआई का प्रारम्भिक अवस्थाका ट्युमर तथा ठूला पोलिपहरूलाई बिना शल्यक्रिया, एकै टुक्रामा पूर्ण रूपमा निकाल्ने आधुनिक उपचार विधि हो। यस प्रविधिबाट इसोफेगस, पेट तथा कोलनमा देखिने अर्ली स्टेज ट्युमरको सुरक्षित उपचार सम्भव हुन्छ।
ईएसडी भनेको के हो ?
मानव जीआई ट्र्याक्ट चार तह—म्यूकोसा, सबमुकोसा, मस्कुलारिस र सिरोसाबाट बनेको हुन्छ। इन्डोस्कोपिक सबमुकोसल डिसेक्सन प्रक्रियामा म्यूकोसा र सबमुकोसाको बीचमा सूक्ष्म डिसेक्सन गरी ट्युमरलाई एज अ होल (पूरै एकैपटक) निकालिन्छ।यसअघि प्रयोग हुँदै आएको इन्डोस्कोपिक म्युकोसल रिसेक्सन विधिबाट ट्युमर पूर्ण रूपमा ननिस्कने र पुनः देखिने जोखिम रहने गरेको थियो। तर ईएसडीबाट ट्युमर पूर्ण रूपमा हटाइने भएकाले पुनरावृत्तिको सम्भावना निकै कम हुन्छ।
ईएसडीका प्रमुख फाइदा
बाहिरबाट कुनै चिरफार वा सर्जरी आवश्यक नपर्ने
अङ्ग सुरक्षित राख्न सकिने
रक्तस्रावको जोखिम न्यून
अस्पताल बसाइ छोटो (२४ घण्टामै खान सुरु, भोलिपल्ट डिस्चार्ज)
सर्जरीको तुलनामा करिब एक तिहाइ खर्च
बिरामीको मर्बिडिटी र पीडा कम
“पहिला सानो ट्युमरका लागि पनि पूरै अर्गान निकाल्नुपर्ने अवस्था थियो, तर ईएसडीपछि अर्गान प्रिजर्भ गरेर उपचार सम्भव भएको छ,” डा. पुर्वेले बताउनुभयो।
जोखिम भए पनि नियन्त्रणयोग्य
ईएसडी प्रक्रियामा कहिलेकाहीँ रक्तस्राव वा आन्द्रामा प्वाल पर्ने (Perforation) जस्ता जटिलता आउन सक्ने भए पनि अनुभवी चिकित्सक, आधुनिक उपकरण र सक्षम इन्डोस्कोपी युनिट भएमा ती जटिलता तत्काल व्यवस्थापन गर्न सकिने डा. पुर्वेको भनाइ छ।
नेपालमा पहिलो पटक सफल प्रयोग
डा। पुर्वेका अनुसार नेपालमा यसअघि ईएसडी सेवा उपलब्ध थिएन। हेम्स हस्पिटलले गत वर्ष सेवा सुरु गरिसकेको थियो। चीनमा विशेष तालिम लिएपछि पछिल्ला २–३ महिनामा ईएसडी सेवा सुरु गरिएको हो।हालसम्म दुई जना बिरामीमा ईएसडी सफलतापूर्वक सम्पन्न भइसकेको र दुवै बिरामी नियमित फलोअपमा स्वस्थ अवस्थामा रहेको अस्पतालले जनाएको छ।
अर्ली स्टेज क्यान्सरको ‘पहिलो रोजाइ’
विश्वभर अर्ली स्टेज जीआई क्यान्सरको उपचारमा ईएसडीलाई नम्बर वन चोइस मानिन्छ। लेस इन्भेजिभ, सुरक्षित र किफायती भएकाले भविष्यमा नेपालमा पनि यसको उपयोगिता झन् बढ्दै जाने चिकित्सकहरूको विश्वास छ।“सही तालिम र प्रविधिको प्रयोग भयो भने ईएसडी नेपालका बिरामीका लागि गेम चेन्जर बन्न सक्छ,” डा. पुर्वेले बताउनुभयो।









प्रतिक्रिया