रास्वपासँग मिलेर जान गाह्रो भयो–कुलमान घिसिङ

काठमाडौं, पुस  २५  ।  उज्यालो नेपाल पार्टीको नेतृत्व तहका केही नेताहरूसँगको छलफलमा कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग मिलेर जान गाह्रो भएको बताउनुभएको छ । उज्यालो नेपाल पार्टीका संरक्षक घिसिङले शुक्रबार बिहान रास्वपा सभापति रवि लामिछानेसँग तीन घण्टा छलफल गर्नुभएको थियो। त्यसपछि दिउँसो उज्यालो नेपाल पार्टीका नेतृत्व तहका नेतासँग बौद्धमा दुई घण्टा छलफल गर्नुभएको हो।

आफू निकट र सल्लाह सुझाव लिने गरेका नेताहरूसँगको छलफलमा रास्वपासँग मिलेर जान गाह्रो भएको सुनाएको एक नेताले बताउनुभयो । ‘एक–दुई कुरा मिलेका छैनन्,’ घिसिङको भनाइ उद्धृत गर्दै तीन नेताले भन्नुभयो, ‘रास्वपासँग मिलेर जान गाह्रो भयो।’शीर्ष तहका नेतासँगको छलफलपछि अहिले उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्यसँग छलफलमा जुटेका छन्।

काठमाडौँको बौद्धस्थित एक होटलमा छलफल सुरु भएको छ। यसअघि छलफलका लागि सबै केन्द्रीय सदस्यलाई उपस्थित हुन पार्टीको ग्रुपमा सूचना जारी गरिएको थियो। केन्द्रीय सदस्यहरूसँगको छलफलपछि रास्वपासँग मिलेर जाने कि अलग हुने भन्ने निष्कर्षमा पुग्ने घिसिङको योजना छ। ‘अहिल्यै अलग हुने निर्णयमा त पुगिसक्नु भएको छैन। आजको छलफलपछि के गर्ने भन्ने निर्णयमा पुग्नुहुन्छ,’ छलफलमा सहभागी अर्का नेताले भन्नुभयो, ‘रास्वपासँग अप्ठ्यारो भएको सुनाउनु भएको छ।’

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार  १९ : ५०  बजे