रुसको आक्रमणले युक्रेनका लाखौँ घरमा अन्धकार

काठमाडौं, २५ पुस  । रुसको आक्रमणले युक्रेनको निप्रोपेट्रोभस्क क्षेत्रमा ऊर्जा पूर्वाधारमा ठुलो क्षति भएको छ।

युक्रेनका उपप्रधानमन्त्री ओलेक्सी कुलेबाले रुसले गरेको ड्रोन आक्रमणका कारण बिजुली अवरुद्ध हुँदा निप्रोपेट्रोभस्क क्षेत्रका १० लाखभन्दा बढी मानिस समस्यामा परेको बताएका छन्। कुलेबाका अनुसार रुसको हमलाले दक्षिणपूर्वी क्षेत्रको पूर्वाधारमा ठुलो मात्रामा क्षति पुर्‍याएको छ। छिमेकी जापोरिजियाका समेत हजारौँ मानिस विद्युत् सेवाबाट वञ्चित भएका थिए। तर अहिले बिजुली जडान भइसकेको छ।

बीबीसीका अनुसार रुसले हालैका दिनमा युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारेको छ। यसको उद्देश्य कडा जाडोमा बिजुली आपूर्ति अवरुद्ध गर्नु रहेको बताइएको छ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणविरुद्ध सहयोग गर्न पश्चिमी देशहरूलाई अपिल गरेका छन्।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार  ०८ : ५३  बजे