काठमाडौँ, २४ पुस । आफ्नो १९औँ वार्षिकोत्सवका अवसरमा १५ वर्ष सेवा पूरा गरेका १७५ कर्मचारीलाई ग्लोबल आइएमई बैंकले सम्मान गरेको छ । अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा भएको विशेष कार्यक्रममा कर्मचारीहरूलाई सम्मान गरिएको हो।
बैंक सञ्चालक समितिका अध्यक्ष ढकाल लगायत सदस्य राधेश पन्त, रामबहादुर भण्डारी, कृष्णप्रसाद शर्मा, मदनलाल जोशी र नारायणप्रसाद पौडेल, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले संयुक्तरूपमा खादा र सम्मानपत्र प्रदान गरी कर्मचारीहरूलाई सम्मान गर्नुभयो ।
समारोहमा सम्बोधन गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राखेर बैंकको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताउनुभयो । उहाँले १९औँ वाणिज्य बैंकको रुपमा स्थापना भएको यो बैंकले स्थापनाको १९ वर्षमा नै आफूलाई अधिकांश वित्तीय सूचकमा अब्बल बनाउन सफल रहेको बताउनुभयो ।
उहाँले अझ लगनशील भएर कर्तव्य पालना गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो । यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले आफ्नो सेवालाई नविनतम् तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताउनुभयो ।
बैंकका नायव प्रमुुख कार्यकारी अधिकृत सुमन पोखरेलले बैंकले आगामि वर्षहरुमा ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझ गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो ।









प्रतिक्रिया