काठमाडौं, २१ पुस । टीकापुर हत्याकाण्डको मुद्दामा तीन तहकै अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतले यसअघि गरेको फैसलाको कपी झिकाउने आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको इजलासले रेशम चौधरीलाई जन्मकैद गर्ने फैसलाको पूर्णपाठ मुद्दाको मिसिल साथमा राख्ने आदेश जारी गरेको हो । रेशमलाई माफी दिएको भोलिपल्ट अर्थात् २०८० जेठ १६ गते टीकापुर हत्याकाण्डमा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडायतले सर्वोच्च अदालतमा सरकारको निर्णयविरुद्ध रिट हाल्नुभएको थियो। उक्त मुद्दामा २०८० जेठ २३ गते न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कारण देखाऊ आदेशसहित अग्राधिकार दिएको थियो ।
सरकारका विभिन्न निकायले साउन ८ भित्रै सर्वोच्चमा लिखित जवाफ पेस गरेका थिए, तर लिखित जवाफ पेस भएपछि भने अहिलेसम्म सुनुवाइको पालो नै आएको छैन । कारण देखाऊ आदेशपछि यो मुद्दामा दुई वर्षसम्म सुनुवाइ हुन सकेको छैन । त्यसपछि दुई पटक इजलासमा पुगेको यो मुद्दाको सुनुवाइ २०८० पुस १६ गते एक पटक स्थगित भएको थियो । त्यसको एक वर्षपछि २०८१ माघ २७ गते यो मुद्दाको सुनुवाइका लागि पेसी तोकेर पनि बेन्च बस्न सकेन । यो मुद्दामा हालसम्म १४ वटा पेसी तोकिएकोमा २०८१ असार ६ गते साप्ताहिक पेसी सूचीबाट हटाइएको थियो ।









प्रतिक्रिया