घरेलु मैदानमा हुने महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोली घोषणा

काठमाडौं,  पुस  २०।  आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको छ ।नेपाली टोलीको उपकप्तानमा पूजा महतो रहेकी छिन् । टोलीमा बर्मा र महतोसहित रुबिना क्षेत्री, सीता राना मगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, राजमती ऐरी र मनिषा उपाध्याय रहेका छन् ।

महिला टी–२० विश्वकप ग्लोबल छनोट आउँदो जनवरी १८ देखि फेब्रुअरी १ सम्म कीर्तिपुरको त्रिवि मैदान र माथिल्लो मूलपानी मैदानमा हुनेछन । नेपालले जनवरी १८ मा माथिल्लो मूलपानी मैदानमा थाइल्यान्डसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । १० वटा टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, आयरल्यान्ड, पपुआ न्यु गिनी (पीएनजी), नामिबिया र अमेरिका रहेका छन् । यस्तै समूह ‘बी’ मा आयोजक नेपाल, स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बावे र नेदरल्यान्ड्स रहेका छन् ।प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीनमा पर्ने टोलीहरू ‘सुपर–सिक्स’ मा पुग्नेछन् । ‘सुपर–सिक्स’ बाट शीर्ष चार वटा टोली आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।

प्रकाशित मिति: २० पुस २०८२, आइतबार  १७ : ५६  बजे