सङ्खुवासभा, १८ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश, जनता र संविधान बचाउन समाजवादी एकता भएको बताउनुभएको छ । आज खाँदबारीमा आयोजित नेपाली कम्युनिष्ट पार्टी सङ्खुवासभाको एकता सन्देशसभामा संयोजक प्रचण्डले संविधान बचाउन वामपन्थी र समाजवादी एकता गरिएको बताउनुभयो ।
उहाँले जेनजी आन्दोलनपछिको अवस्थामा देशको उत्तम विकल्प निर्वाचन नै भएको बताउनुभयो । सङ्कटमा परेको राष्ट्रलाई निकास दिन वामपन्थी र समाजवादी शक्ति मिल्नुको विकल्प नभएको उहाँको भनाइ थियो। संयोजक प्रचण्डले हालै देखिएको जेनजी आन्दोलनले देशको शासन प्रणाली र समग्र परिस्थितिबारे नवयुवाहरू सचेत र जिम्मेवारीपूर्ण ढङ्गले आन्दोलित हुन चाहेको स्पष्ट पाए। उहाँले जेनजी आन्दोलनको उपलब्धि रक्षा गर्न नेपाली कम्युनिष्ट पार्टी सच्चिएर अघि बढ्ने बताउनुभयो। त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले राज्यलाई अराजकताबाट जोगाएर अघि बढाउने जिम्मेवारी युवापुस्ताको काँधमा आएको बताउनुभयो ।
“नयाँ पुस्ता राजनीतिप्रति रुचि राख्दैनन् भन्ने भ्रम थियो, तर जेनजी आन्दोलनले त्यो गलत सावित गरिदिएको छ”, उहाँले भन्नुभयो । सहसंयोजक नेपालले सचेत र जिम्मेवार रूपमा आन्दोलित भएकामा युवालाई धन्यवाद दिँदै अब देशलाई शान्तिपूर्ण, लोकतान्त्रिक तरिकाले निकास दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।









प्रतिक्रिया