आगो लगाउनेलाई कारबाही भएन, जोगाउनेलाई थुनियो : कांग्रेस प्रवक्ता महत

काठमाडौं, १६ पुस । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आफ्नो घरमा आगो लगाउनेलाई छाडेर जोगाउन जानेलाई कारबाही गरिएको भन्दै असन्तुष्टि पोख्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको शान्ति, स्थायित्व र समृद्विका लागि सहकार्य विषयक सर्वपक्षीय संवादमा पूर्व अर्थमन्त्री डा. महतले भदौ २४ को घटनालाई अपराधका रुपमा हेर्नु पर्ने बताउनुभयो ।

महतले भन्नुभयो,‘अमेरिकाबाट आएर मैले बनाएको मेरो घर जलाए, मेरो घर जलाउनेलाई कारबाही भएन उल्टै जोगाउन गएकालाई थुनियो, माथिल्लो तहमा भनेपछि १५ दिनमा बल्ल छुटे । घर जलाउने पक्राउ परेनन् ।’

गलत गर्नेलाई अहिलेको सरकारले कारबाहीको दायरामा ल्याउन नसकेको उहाँको भनाइ छ । उहाँले थप्नुभयो,‘अपराधमा सामेल हुनेलाई कारबाही गरिएन भने भोलि जसले पनि जस्तो अपराध गर्न तयार हुन्छ ।’

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार  १६ : ४१  बजे