काठमाडौँ, १५ पुस । बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेकी जियाको मंगलबार बिहान ढाकास्थित एभरकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।बीएनपीको मिडिया सेलले सामाजिक सञ्जाल फेसबुक र एक्समार्फत उनको निधनको जानकारी दिएको छ । बीएनपीका अनुसार मंगलबार बिहान ६ बजे फज्रको नमाज पढेको केही समयपछि उनले अन्तिम सास फेरेकी थिइन् ।खालिदा जियाका छोरा तारिक रहमान १७ वर्षको लामो लन्डन बसाइपछि गत डिसेम्बर २५ मा मात्रै ढाका फर्किएका थिए । छोरा स्वदेश फर्केको पाँच दिनपछि जियाको निधन भएको हो ।
पछिल्लो केही महिनादेखि उनको स्वास्थ्य अवस्था निकै नाजुक थियो । यसै महिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उनको स्वास्थ्य लाभको कामना गर्दै हरसम्भव सहयोगको प्रस्ताव गरेका थिए ।चार दशकभन्दा लामो समय राजनीतिमा सक्रिय खालिदा जिया सन् १९८१ मा पति एवं तत्कालीन राष्ट्रपति जियाउर रहमानको हत्या भएपछि राजनीतिमा प्रवेश गरेकी थिइन् । उनले नै बीएनपीको कमान सम्हालेकी थिइन् ।उनी सन् १९९१ मा बंगलादेशको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । त्यसपछि सन् २००१ देखि २००६ सम्म उनी पुनः सत्तामा रहिन् ।बंगलादेशमा बहुदलीय लोकतन्त्रको स्थापनाका लागि उनलाई महत्त्वपूर्ण नेता मानिन्छ ।शेख हसिना प्रधानमन्त्री रहँदा खालिदा जिया जेलमा थिइन् भने उनका छोरा तारिक रहमानलाई पनि विभिन्न मुद्दामा दोषी ठहर गरिएको थियो । तर, सन् २०२४ मा शेख हसिनाविरुद्ध भएको विद्यार्थी आन्दोलनपछि गठन भएको मोहम्मद युनुसको अन्तरिम सरकारले जिया र उनका छोरालाई सबै मुद्दाबाट सफाइ दिएको थियो ।बीएनपी अहिले बंगलादेशको सबैभन्दा ठूलो दलका रूपमा देखिएको छ र आगामी वर्ष हुने चुनावमा यो पार्टी सत्तामा आउन सक्ने अनुमान गरिएको छ । जियाले सन् २०२४ मा शेख हसिनाविरुद्ध भएको जनआन्दोलनलाई जेलबाटै समर्थन जनाएकी थिइन् ।









प्रतिक्रिया