काठमाडौं, १२ पुस । नेकपा एमालेका नेता काशीनाथ अधिकारीले समानुपातिक तर्फ एकपटक सांसद हुने अवसर पाइसकेको व्यक्तिलाई नदोहोर्याउन पार्टी नेतृत्वलाई आग्रह गर्नुभएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको नामावली निर्वाचन आयोगमा बुझाउने अन्तिम तयारी भइरहँदा उहाँले सबै पार्टीहरूले २०४७ सालभन्दा यता एक पटक समानुपातिक वा राष्ट्रियसभा सदस्य भइसकेको व्यक्तिलाई पुनः त्यो अवसर नदिन आग्रह गर्नुभएको छ । मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अधिकारीले एमालेले त यस्ता व्यक्तिलाई समानुपातिकको अवसर दिनै नहुने तर्क अघि सार्नुभएको हो ।
‘२०४७ साल पश्चात् एक पटक समानुपातिक सांसद या राष्ट्रियसभा सदस्य भैसकेका व्यक्तिलाई पुन दोहोराउने काम नगरौँ । कम्तीमा नेकपा एमालेले नगरोस्’ पार्टीको संगठन विभागका पूर्व प्रमुख समेत रहेका अधिकारीले लेख्नुभएको छ ‘जीवनमा एक जनालाई एक पटक मात्र मनोनीत हुने अवसर प्राप्त होस ।’
अधिकारीले यस्तो अवसर पनि न्यायोचित वितरण होस भन्ने माग गरेका छन् । पार्टीमा पद र अवसरका लागि थिति बसोस् भन्ने आफ्नो विशेष आग्रह रहेको उहाको भनाइ छ । फागुन २१ गते हुने निर्वाचनका लागि दलहरूलाई पुस १२ गतेसम्म समानुपातिक तर्फका उम्मेदवारको सुची निर्वाचन आयोगमा बुझाउने समय सीमा दिएको छ ।









प्रतिक्रिया