एमालेले भन्यो– प्रधानमन्त्रीले बोलाएको बैठकले संसद् पुनर्स्थापना गर्ने मागको औचित्य पुष्टि गर्‍यो

काठमाडौं, ७  पुस ।  नेकपा एमालेले प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठकले संसद् पुनर्स्थापना गर्ने मागको सान्दर्भिकता र औचित्य पुष्टि गरेको बताएको छ। एमालेका तर्फबाट बैठकमा सहभागी विघटित प्रतिनिधि सभाका एमाले प्रमुख सचेतक महेश बर्तौलाले सामाजिक सञ्जालमा लेख्दै यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री कार्कीले सोमबार निर्वाचनबारे छलफल गर्न सर्वपक्षीय बैठक बोलाउनुभएको थियो। बैठकपछि बर्तौलाले लेख्नुभएको छ ,ʻनिर्वाचनको मिति आउन जम्मा ७२ दिन मात्रै बाँकी रहेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको बैठकमा नेकपा एमालेको तर्फबाट म पनि सहभागी थिएँ। तर राजनीतिक दल, नागरिक समाज र निर्वाचन आयोग समेतलाई सहभागी गराएर प्रधानमन्त्रीज्यूले बोलाएको उक्त बैठकमा प्रस्तुत गरिएको सरकारी प्रस्तावले नै फागुन २१ गते निर्वाचन हुँदैन र गर्दैन भन्ने कुरा औपचारिक रूपमै घोषणा भएको छ।ʼ बर्तौलाले यसले मुलुकमा विद्यमान जटिल परिस्थितिको संवैधानिक निकासका लागि तत्काल संसद् पुनर्स्थापना गर्ने मागको संवैधानिक र कानुनी आवश्यकता मात्रै नभई व्यवहारिक र राष्ट्रिय सान्दर्भिकता तथा औचित्य समेत सुदृढ ढङ्गले पुष्टि भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो,ʻखेल प्रारम्भ भएको ह्विसल बजिसके पछि खेलाडीको अनुहार हेर्दै पाइलै पिच्छे सर्वस्विकार्यता विपरीत नियमहरू अदलबदल हुन सक्दैन। त्यो खेलको स्वच्छता, निष्पक्षता र निर्भयताका लागि होइन र हुन सक्दैन।ʼ सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २१ गते मिति तय गरेको छ। तर एमाले, नेपाली कांग्रेस लगायत केही दलले संसद् पुनर्स्थापनाको माग गर्दै आएका छन्।

 

प्रकाशित मिति: ७ पुस २०८२, सोमबार  २० : २२  बजे