रिहा भए छविलाल जोशी

काठमाडौँ, ७ पुस । सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी रिहा हुनुभएको छ । सहकारी ठगी प्रकरणमा कारगारमा रहेका तत्कालीन गोर्खा मिडियाका सञ्चालक जोशी रिहा हुनुभएको हो । थुनाबाहिर बस्न पाउनुपर्ने माग गर्दै उहाँले दिएको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत, बुटवलले मिसिल पुनः जिल्लामै फिर्ता पठाउने आदेश दिएको थियो । आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लिराम शर्मा अर्यालको इजलासले उनीसँग धरौटी माग गर्ने आदेश गरेको हो ।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा उहाँ थुनामा हुनुहुन्थ्यो । जोशीले एकमुष्ट तीन करोड बैंक जमानत बुझाएपछि आइतबार रिहा गरिएको जिल्ला अदालतले जनाएको छ। उहाँसँगै थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भने यही पुस ३ गते उच्च अदालतले थुनामुक्त गर्ने आदेश दिएको थियो । उहाँ रिहा भएर पनि पार्टीमा सक्रिय हुनुभएको छ । लामिछानेले ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाउनुभएको थियो । त्यसमध्ये एक करोड पहिल्यै बुझाउनुभएको थियो ।

प्रकाशित मिति: ७ पुस २०८२, सोमबार  ०८ : ०७  बजे