काठमाडौं, ६ पुस । फास्ट फुड एसोसिएसन नेपालद्वारा आयोजित प्रथम फुटसल कप–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम संस्थाका अध्यक्ष होमराज श्रेष्ठज्यूको अध्यक्षतामा तथा बुढानिलकण्ठ नगरपालिका वडा नं. ९ की निर्वाचित वडा अध्यक्ष एवं समाजसेवी सुमित्रा त्रिपाठीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
केन्द्रीय सदस्य एवं कार्यक्रम संयोजक सुरेश कार्की ज्यूको संयोजनमा आयोजना गरिएको उक्त कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष राजकुमार श्रेष्ठ, संस्थापक अध्यक्ष तराराम श्रेष्ठ, पूर्व अध्यक्षहरू फडिन्द्र बहादुर श्रेष्ठ, धन बहादुरे श्रेष्ठ, केशर बहादुर श्रेष्ठलगायत सल्लाहकारहरू लिला बहादुर श्रेष्ठ, मित्रलाल थोकर, हरि बहादुर श्रेष्ठ, नवीन श्रेष्ठ, विष्णु कुमार श्रेष्ठ तथा संस्थाका वर्तमान तथा पूर्व कार्यसमिति पदाधिकारी र सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
त्यसैगरी कार्यक्रममा सामाजिक अगुवा, पेशा–व्यवसायी, उद्यमी, पत्रकार, रेफ्री, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका प्रतिनिधि, अतिथिगण, दर्शक तथा खेलाडीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
संस्थाले “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” तथा “स्वास्थ्यसँग फास्ट फुड” भन्ने उद्देश्यका साथ आयोजना गरेको उक्त प्रतियोगिता पौष ५ गते काठमाडौंको धुम्बाराही हाइटस्थित सूर्य फुटसलमा सम्पन्न भएको हो।
प्रतियोगितामा कुल सातवटा टिमहरूको सहभागिता रहेको थियो। सहभागी टिमहरूमा सगरमाथा स्ट्राइकर्स, धौलागिरी योद्धा, मकालु किङ्स, मनास्लु लेजेन्ड्स, हिमचुली टाइगर्स, गणेश हिमाल वारियर्स र लाङटाङ किकर्स रहेका थिए।
कडा प्रतिस्पर्धासहित सम्पन्न रोमाञ्चक खेलहरूमा मकालु किङ्स प्रथम, गणेश हिमाल वारियर्स दोस्रो, लाङटाङ किकर्स तेस्रो तथा धौलागिरी योद्धाले सान्त्वना स्थान हासिल गरेका छन्।
विजेता टोली मकालु किङ्सलाई कप, मेडल तथा प्रमाणपत्रसहित नगद ३० हजार रुपैयाँ, दोस्रो हुने टोलीलाई नगद २० हजार रुपैयाँ, तेस्रो हुने टोलीलाई नगद १० हजार रुपैयाँ तथा सान्त्वना टोलीलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिएको थियो।
उक्त प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न गोरखा ब्रुअरी प्रा.लि., ग्रीन एग्रो नेपाल, होटल स्मार्ट दरबार, ग्लोबल ट्रेडिङ कम्पनी लिमिटेड, समृद्धि ग्रुप, सवारी सेवा नेपाललगायत सहयोगी संस्थाहरूको उल्लेखनीय सहयोग रहेको आयोजकले जनाएको छ।
खेलप्रेमीहरूको उत्साहजनक सहभागितासहित राजधानीका विभिन्न क्षेत्रका एरिया–वाइज टिमहरूको सहभागिता रहेको उक्त प्रतियोगिता मर्यादित, अनुशासित तथा स्वस्थ खेल वातावरणमा सम्पन्न भएको आयोजकको भनाइ छ।
कार्यक्रम सफल बनाउन सहयोग पुर्याउनु हुने व्यवस्थापन टिम, कार्यक्रम संयोजक, समिति, एरिया इन्चार्जहरू, पदाधिकारी, सदस्यहरू, काठमाडौं, ललितपुर तथा भक्तपुर जिल्लाका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरू, आबद्ध व्यवसायी, पत्रकारलगायत सम्पूर्णप्रति आयोजक संस्थाले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।










प्रतिक्रिया