काठमाडौं, ५ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले दलका नेताहरूलाई काठमाडौँ बाहिर जान नदिएर सरकारको कस्तो निर्वाचन गराउन खोजेको हो भन्दै प्रश्न गर्नुभएको छ । शनिबार विराटनगर ६ सरौचियामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विगतमा जस्तै सबै राजनीतिक दलहरुलाई सहभागी गराएर निर्वाचनमा जानुपर्ने बताउनुभयो । ‘राजनीतिक दलका नेता, पूर्वप्रधानमन्त्रीलाई काठमाडौँ बाहिर जान नपाइने भन्दैछ यो सरकार।
अनि अर्कोतर्फ सरकार म निर्वाचन गराउँछु पनि भन्दै छ। यो कस्तो निर्वाचन गराउन खोजेको ?’ डा. कोइरालाले प्रश्न गर्नुभयो, ‘हामी विगतमा भएजस्तो सबै राजनीतिक दलहरु सहभागी भएर निर्वाचनमा जान पाउनुपर्यो।’ उहाँले फागुन २१ गतेको निर्वाचनमा कांग्रेसले भाग लिने भन्दै सरकारलाई निर्वाचनमा शान्ति सुरक्षा कायम गर्न आग्रह गर्नुभयो । ‘कांग्रेसले निर्वाचनमा जाने निर्णय गरिसकेको छ। हामी त निर्वाचनमा जान्छौँ नै’, उहाँले भन्नुभयो ‘तर सरकारले शान्ति सुरक्षा प्रत्याभूति गराउनुपर्यो। अझैपनि जेलबाट सार्पसुटरसहित ५ हजार बढी कैदी फरार छन्। प्रहरीको हातहतियार लुटिएको छ। फरार कैदीलाई पक्राउ गर्नु पर्यो। हतियार बरामद गर्नुपर्यो। सरकार त्यतातिर ध्यान दिइरहेको छैन।’ उहाँले भदौ २३ र २४ भएको जेनजी आन्दोलन फरक–फरक रुपमा लिनुपर्ने बताउनुभयो। २३ गतेको घटना घृणित रहेको र उक्त घटनालाई जति निन्दनीय भने पनि माफी पाउने अवस्था नरहेको बताउनुभयो । उहाँले २४ गते भएको विध्वंसको पनि छानबिन हुनुपर्ने माग गरे। डा. कोइरालाले अहिलेको अवस्थामा पार्टीको महाधिवेशन केहीदिन तलमाथि हुनसक्ने आशंका ब्यक्तसमेत गनुभयो।








प्रतिक्रिया