कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक

काठमाडौं, ४ पुस । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब २० करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो ।

केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो । बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ९६ करोड, ‘ख’ वर्गका बैंकले १८ करोड र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ६ करोड बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको हो ।

मुद्दती निक्षेपमा २०२५ डिसेम्बर २६ देखि २०२६ डिसेम्बर २६ सम्म ३६६ दिनका लाग राखिने समेत राष्ट्र बैंकले जानकारी दिएको छ । मुद्दती निक्षेपको रूपमा लिन चाहेको रकम खुलाइ पुस ७ गते भित्र ब्याजदर प्रस्ताव आह्वान गर्न भनिएको छ ।

बैंकको तोकिएको न्यूनतम पुँजीकोष कायम भएको, बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको र निष्क्रिय कर्जा (एनपीएल) अनुपात ८ प्रतिशत र खुद निष्क्रिय कर्जा (खुद एनपीएल) अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने लगायत शर्त राखिएको छ ।

खुद तरल सम्पत्ति बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको लगायतका शर्त राखेको छ । बैंक तथा वित्तीय संस्थाले अन्य थप शर्त राखी प्रस्ताव पेश गर्न पाउने छैनन् । यदि थप शर्त राखेर प्रस्ताव भएको अवस्थामा त्यस्तो शर्त मान्य हुने छैन । कोषको रकम लगानी गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंक अवकाश कोष व्यवस्थापन समितिले गरेको निर्णय अन्तिम हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार  १८ : २४  बजे