ट्रम्पले गरे डीभी चिठ्ठा कार्यक्रम ‘पज’

वाशिङ्टन, ४ पुस । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले डाइभर्सिटी भिसा (डीभी) लटरी कार्यक्रम स्थगन गर्ने घोषणा गरेको छ । राष्ट्रिय सुरक्षा र आप्रवासन प्रणालीमा सुधार आवश्यक रहेको दाबी गर्दै ट्रम्प प्रशासनले यो कार्यक्रम ‘पज’ गर्ने बताएको हो ।

ट्रम्पको निर्देशनमा होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले डाइभर्सिटी इमिग्रेन्ट भिसा (डिभी) कार्यक्रमलाई तत्काल स्थगित (पज) गर्ने घोषणा गरेकी छिन् । यो कार्यक्रमलाई ‘ग्रीन कार्ड लोटरी’ का रूपमा पनि चिनिन्छ, जसले कम आप्रवासन दर भएका देशका नागरिकहरूलाई वार्षिक रूपमा लोटरीमार्फत ५०,००० सम्म ग्रीन कार्ड प्रदान गर्दै आएको थियो ।

यो निर्णय ब्राउन युनिभर्सिटी र एमआईटीमा भएको गोलीकाण्डसँग जोडिएको छ । गोलीकाण्डका मुख्य संदिग्ध क्लाउडियो मानुएल नेभेस भालेन्ते (४८ वर्षीय पोर्चुगिज नागरिक) सन् २०१७ मा यो डिभी कार्यक्रममार्फत अमेरिका प्रवेश गरी ग्रीन कार्ड प्राप्त गरेका थिए ।

भालेन्तेले डिसेम्बर १३ मा ब्राउन युनिभर्सिटीमा गोली चलाउँदा दुई विद्यार्थीको मृत्यु भएको थियो र नौ जना घाइते भएका थिए । त्यसको दुई दिनपछि एमआईटीका प्रोफेसर नुनो एफजी लौरेरोको हत्या पनि उनैले गरेको अधिकारीहरूले पुष्टि गरेका छन् । भालेन्ते डिसेम्बर १८ मा न्यू ह्याम्पशायरमा आत्महत्या गरेको अवस्थामा फेला परेका थिए ।

सेक्रेटरी नोएमले सोसल मिडिया एक्समा लेख्नुभएको छ, ‘ब्राउन युनिभर्सिटी गोलीकाण्डका संदिग्ध क्लाउडियो मानुएल नेभेस भालेन्ते सन् २०१७ मा डाइभर्सिटी लोटरी इमिग्रेन्ट भिसा कार्यक्रम (डीभी) मार्फत अमेरिका आएका थिए र ग्रीन कार्ड पाएका थिए ।  यो घृणित व्यक्ति कहिल्यै पनि हाम्रो देशमा आउनु हुँदैन थियो । राष्ट्रपति ट्रम्पको निर्देशनमा मैले यो कार्यक्रम तत्काल पज गर्न निर्देशन दिएको छु, ताकि यो विनाशकारी कार्यक्रमबाट थप अमेरिकीहरू हानि नपुगोस् ।’

राष्ट्रपति ट्रम्प लामो समयदेखि यो कार्यक्रमको विरोधी रहँदै आएका छन् । उनले यसलाई राष्ट्रिय सुरक्षा जोखिम ठानेका छन् र मेरिट–आधारित आप्रवासनलाई प्राथमिकता दिनुपर्ने तर्क गर्दै आएका छन् । सन् २०१७ मा न्यूयोर्कमा भएको ट्रक आक्रमण (जसमा डिभी भिसा प्राप्त एक व्यक्तिले ८ जनाको हत्या गरेका थिए) पछि पनि ट्रम्पले यो कार्यक्रम अन्त्य गर्न प्रयास गरेका थिए ।

यो कार्यक्रम कांग्रेसले कानुनी रूपमा स्थापित गरेको हो, जसले गर्दा यसलाई पूर्ण रूपमा खारेज गर्न कानुनी चुनौतीहरू आउन सक्ने विश्लेषकहरूले बताएका छन् । मुख्य रूपमा स्टेट डिपार्टमेन्टले सञ्चालन गर्ने यो कार्यक्रमको केही भाग यूएससीआइएस (होमल्याण्ड सेक्युरिटी मातहत) ले हेर्ने भएकाले यो स्थगन सम्भव भएको हो ।

डीभी २०२५ का लागि करिब २० मिलियन मानिसहरूले आवेदन दिएका थिए, जसमध्ये १ लाख ३१ हजारभन्दा बढी (पति/पत्नी सहित) छानिएका थिए । डीभी २०२६ को आवेदन प्रक्रिया चलिरहेको छ, तर यो स्थगनले यसमा प्रभाव पार्न सक्छ ।

 

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार  १७ : ३१  बजे