सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशङ्का जन्मिएको छ : डा. शेखर कोइराला

काठमाडौं, ४ पुस । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रजातन्त्रको जग नै निर्वाचन भएकाले कांग्रेस निर्वाचनमा जान आतुर रहेको बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर्गत सुन्दरहरैँचा नगरपालिका–४ का स्थानीय कांग्रेस नेताहरूसँगको भेटघाटका क्रममा उहाँले संविधान बचाउने र मुलुकलाई सङ्क्रमणबाट जोगाउने काम निर्वाचनले गर्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,‘संविधान बचाउने र मुलुकलाई सङ्क्रमणबाट जोगाउने काम निर्वाचनले मात्रै गर्छ, हामी त निर्वाचनको मिति कुरेर बसेका छौँ तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशङ्का जन्मिएको छ ।’ डा. कोइरालाले फागुन २१ मा नै निर्वाचन हुनु पर्ने पनि बताउनुभयो । तर सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नसकेको उहाँको धारणा छ ।

उहाँले भन्नुभयो, ‘दलका केही नेतालाई काठमाडौं बाहिर जान दिइएको छैन, लुटिएका हतियार अझै बाहिर छन्, कैदीहरू बाहिर छन्, यी विषयमा सरकारले के सोचेको छ ?’ सरकारको निष्क्रियताप्रति चिन्ता व्यक्त गर्दै उहाँले समयमै निर्वाचन सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले निर्वाचनका लागि जुट्न पार्टी पङ्क्तिलाई निर्देशन दिनुभएको छ ।

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार  १५ : ५०  बजे