एमाले महाधिवेशन : आज बिहान ८ बजेदेखि मतदान सुरु हुँदै

काठमाडौं, २ पुस । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । मंगलबारका लागि तय भएको मतदान अन्तिम समयमा आएर बुधबार बिहान ८ बजेका लागि सारिएको हो ।निर्वाचन आयोगले तयार गरेको उम्मेदवार नामावलीमा युनिकोड र प्रिति फन्ट मिश्रित रूपमा प्रयोग भएकाले त्यसलाई पुनः युनिकोडमा रूपान्तरण र रुजु गर्न समय लाग्ने प्राविधिक समस्या उत्पन्न भएपछि मतदान सारिएको महासचिव शंकर पोखरेलले बताउनुभयो ।

त्यही कारण आयोगको निर्देशनअनुसार मतदान बुधबार बिहानबाट शुरू गर्नेगरी मंगलबार स्थगित गरिएको उहाँको दाबी छ । एमालेको मतदान मंगलबार दिउँसोदेखि हुने भनिएको थियो । तर, प्राविधिकलगायतका कारण देखाउँदै पटक–पटक मतदानको समय सर्दै आएको छ । मंगलबार राति ८ बजेदेखि हुने भनिएको मतदान पनि मतदाताहरू लाइनमा बसिसकेको अवस्थामा स्थगित गरिएको थियो । एमालेको नयाँ नेतृत्व चयनका लागि अध्यक्षका उम्मेदवारहरू केपी शर्मा ओली र ईश्वर पोखरेलले छुट्टाछुट्टै प्यानल बनाउनुभएको छ । ओली प्यालनको उपाध्यक्षमा गुरु प्रसाद बराल, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’ र विष्णुप्रसाद पौडेल हुनुहुन्छ।

महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र विष्णुप्रसाद रिमाल हुनुहुन्छ । यसैगरी, सचिवमा खगराज अधिकारी, छविलाल विश्वकर्मा, पद्‌मा कुमारी अर्याल, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, राजन भट्टराई, शेरधन राई र हिक्मत कुमार कार्की छन् । पोखरेलको प्यानलमा उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, डा. विन्दा पाण्डे र पर्शुराम मेघी गुरुङ छन् । यस्तै, महासचिवमा सुरेन्द्र पाण्डे तथा उपमहासचिवमा योगेश भट्टराई, वैजनाथ चौधरी र आनन्द पोखरेल उम्मेदवार बनेका छन् । यसैगरी, सचिवमा अग्नि खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, गोकुलप्रसाद बास्कोटा, ठाकुरप्रसाद गैरे, पुरुषोत्तम पौडेल, रचना खड्का र विनोद ढकाललाई अगाडि सारिएको छ ।

प्रकाशित मिति: २ पुस २०८२, बुधबार  ०७ : ०३  बजे