काठमाडौं, २३ मंसिर । देशभरका सबै भन्सार कार्यालयमा भन्सार जाँचपासका सम्पूर्ण काम ठप्प भएका छन् । भन्सार एजेन्ट महासङ्घ नेपालको आह्वानमा भन्सार एजेन्टहरूले आज कार्यालयमा पेन डाउन गर्दा भन्सार जाँचपासका काम ठप्प भएका हुन् ।
२०८२ मङ्सिर २१ गतेदेखि लागू भएको भन्सार ऐन २०८२ का केही प्रावधानको विरोधमा महासङ्घले देशभर भन्सार सेवा अवरुद्ध गरेको हो । महासङ्घका अनुसार नयाँ ऐनका प्रावधानले अन्तर्राष्ट्रिय व्यापार तथा भन्सार प्रक्रियालाई सहज बनाउने भन्दा उल्टो भन्सार एजेन्टको पेशागत अधिकार, उद्योग–व्यवसाय र वैध व्यापारलाई नै हतोत्साहित गर्ने अवस्था सिर्जना भएको छ ।भन्सार ऐन २०८२ को मस्यौदा तयार पार्ने चरणदेखि नै महासङ्घले दण्ड–जरिवाना, इजाजतपत्र नवीकरण, निलम्बन प्रक्रिया, बैंक जमानत, कम्प्युटर प्रणालीमा युजर–आईडी व्यवस्थापन, इन्कुट–आउट नोट प्रणाली र मालवस्तु जाँचपासलाई इजाजत प्राप्त भन्सार एजेन्टमै सीमित गर्ने लगायतका विषय समावेश गर्न माग गर्दै आएको थियो ।
तर लागू भएको ऐनले अनावश्यक दण्ड–जरिवाना थपेको र तजबीजी अधिकार बढाएको महासङ्घले आरोप लगाएको छ ।पेनडाउन आन्दोलन अस्ति आइतवार वीरगञ्ज भन्सारबाट शुरू भएको थियो । दोस्रो दिन हिजो सोमवार भैरहवा भन्सार पूर्णरूपमा ठप्प रह्यो भने तेस्रो दिन आज देशभरका सम्पूर्ण भन्सार कार्यालयका सेवा बन्द गरिएको महासङ्घका केन्द्रीय सदस्य उमेश घिमिरेले जानकारी दिनुभयो ।जाँचपास रोकिँदा देशभरका भन्सार कार्यालयबाट राजस्व असुलीमा प्रत्यक्ष असर परेको छ ।









प्रतिक्रिया