काठमाडौं, १७ मंसिर । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा स्वीकृत गर्दै संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।
पर्सि शुक्रवार बेलुका ५ बजेसम्म दाबी पेश गर्न समय सीमा तोकिएको छ ।मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने कार्यसूची रहेकोमा विश्वासको मत लिन नपाउने अवस्था आएपछि प्रदेशसभाबाटै राजीनामा घोषणा गरेर पछि प्रदेश प्रमुखलाई राजीनामा बुझाउनुभएको हो ।मधेश प्रदेशसभामा एक सय सात सदस्य छन् । मुख्यमन्त्री यादवले आफ्नो पक्षमा विश्वासको मत जुटाउन ५४ सांसदको समर्थन जुटाउनुपर्ने थियो । तर प्रदेशसभामा सभामुख र अन्य दलका दुई जना गरी यादवको पक्षमा २५ जना मात्र छन् । तीमध्ये एक सांसद निलम्बित छन् ।
एमाले मधेश प्रदेश संसदीय दलका नेता यादवले कात्तिक २४ गते बिहान महोत्तरीको बर्दिबासमा रहेको एक होटलमा शपथ लिनुभएको थियो । यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेपछि सत दलका सांसदहरू सर्वोच्च अदालत गएका थिए । यही घटनाका कारण प्रदेश प्रमुख भण्डारीलाई सङ्घीय सरकारको सिफारिशमा राष्ट्रपतिले पदमुक्त गर्नुभएको छ । यस्तै प्रदेशसभाले एमालेबाट सभामुख बन्नुभएका रामचन्द्र मण्डललाई दुईतिहाइ मतबाट पदबाट हटाएको छ ।यसरी एमालेले मधेशमा प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुख पद गुमाएको छ । नवयुवा आन्दोलनपछि विकसित घटनाक्रम माझ जनमत पार्टीका तर्फबाट मुख्यमन्त्री रहेका सतीशकुमार सिंहले असोज २८ गते राजीनामा दिनुभएको थियो । त्यसपछि लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनलले बहुमत देखाउँदै मुख्यमन्त्री नियुक्त भए पनि विश्वासको मत नपाउने स्पष्ट भएपछि उहाँले पनि राजीनामा दिनुभयो । सोनलले राजीनामा दिएपछि यादव मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।मधेश प्रदेशसभामा १० दलको प्रतिनिधित्व छ र बहुमतका लागि दुई ठूला दल मिल्ने अवस्थामा पनि बहुमत नपुग्ने अवस्था छ । यादवको नियुक्तिविरुद्ध सात दलका ७४ जन सांसद सर्वोच्च अदालतमा गएकाले अब उनीहरू मिलेर सरकार गठन गर्ने सम्भावना छ ।









प्रतिक्रिया