नेताहरूको योगदानबारे प्रचार गर्न आवश्यक छ – सभापति देउवा

काठमाडौं,२५ जेठ ।  नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेताहरूको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक रहेको बताउनुभएको छ । शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको राधेश्याम जोन्छेको पूर्णकदको सालिक अनावरण तथा प्रतिष्ठानको भवन उद्घाटन गर्दै नेताहरूको योगदानका बारेमा किताबहरूमा प्रकाशन गरेर प्रचार प्रसार गर्न आवश्यक रहेको बताउनुभएको हो ।

राधेश्याम जोन्छे जुझारु नेताको रूपमा परिचित रहेको उनले स्मरण गर्नुभयो । उहाँले नेताहरूको स्मृतिमा प्रतिष्ठान बनाएर समाजसेवाको काम अघि बढाउन सकारात्मक भएको जिकिर गर्नुभयो । त्यस्तै कांग्रेस नेता बिमलेन्द्र निधिले मुलुकलाई अघि बढाउनका लागि एकताबद्ध हुनुपर्ने धारणा राख्नुभयो। उहाँले संसदलाई अवरोध गर्ने काम उचित नभएको भन्दै सहज रूपमा सदन चल्ने वातावरण बनाउन माओवादीलाई आग्रह गर्नुभयो । भिजिट भिसा प्रकरणमा अख्तियारले गरेको अनुसन्धानलाई विश्वास गर्नुपर्ने उहाँले बताउनुभयो । त्यस्तै निधिले नेपालमा राजतन्त्र फर्काउने कुरा असम्भव रहेको धारणा राख्नुभयो ।

प्रकाशित मिति: २६ जेष्ठ २०८२, आइतबार  १४ : २८  बजे