न्यायमूर्तिलाई कायर देखाउन खोजिएको छ, सडकबाट पनि संसद् पुनःस्थापना भएको इतिहास छ– शंकर पोखरेल

काठमाडौं, मंसिर ६ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आतंकको परिवेश देखाएर सर्वोच्च अदालतका न्यायाधीशलाई कायर देखाउन खोजिएको टिप्पणी गर्नुभएको छ । सडक आन्दोलन र सर्वोच्चबाट प्रतिनिधिसभा पुनःस्थापना भएको इतिहास रहेको उहाँब्ले स्मरण गर्नुभयो । नेकपा एमालेले शनिबार काठमाडौंमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै पोखरेलले पुनःस्थापनाको सम्भावना कम भनेर न्यायाधीशहरूलाई कायर देखाउन खोजिएको टिप्पणी गर्नुभएको हो। ‘कतिपयले भन्ने गर्नुहुनछ– के सडकबाट प्रतिनिधि सभा पुनःस्थापना हुनसक्दछ ? अहिलेको आतंकको परिवेशमा कसैले पनि जोखिम मोल्न सक्दैन, त्यसअर्थमा सर्वोच्चबाट पुनःस्थापनाको सम्भावना कम छ भन्ने अर्थमा हाम्रा सम्मानित न्यायमूर्तिलाई कायर देखाउन खोजिएको छ,’ पोखरेलले भन्नुभयो , ‘तर म तपाईंहरूलाई भन्न चाहन्छु नेपालको इतिहासमा सडकबाट पनि प्रतिनिधिसभा पुनःस्थापना भइसकेको छ । २०५८ सालमा विघटन भएको २०६३ सालमा पुनःस्थापना भएको इतिहास छ, सर्वोच्च अदालतद्वारा पनि प्रतिनिधिसभा पुनःस्थापना भएको इतिहास छ ।’ पोखरेलले देशलाई संविधानवादको बाटोमा फर्काउने उपाय प्रतिनिधि सभाको पुनःस्थापनामा मात्र रहेको दाबी गर्नुभयो । ‘भदौ २३ र २४ गते जुन प्रकारको विध्वंशात्मक क्रियाकलाप भयो, त्यसलाई हाम्रो पार्टीले मुलुकलाई प्रतिगमनतर्फ लैजाने षडयन्त्रको रूपमा विश्लेषण गरेको छ । मुलुकलाई लोकतन्त्र र संविधानवादको दिशामा अगाडि बढाउन प्रतिनिधि सभा पुनःस्थापनाको विकल्प छैन ।’ भदौ २३–२४ को जेनजी आन्दोलनको बलमा बनेको सरकारले भदौ २७ गते प्रतिनिधिसभा विघटन गरेको थियो । त्यसविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ भइसकेको छ । प्रतिनिधिसभा पुनःस्थापनाका लागि जनमत सृजना गर्न भन्दै एमालेले शनिबार काठमाडौंमा जनसभा आयोजना गरेको हो ।

प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार  १७ : ५५  बजे