एमालेको फोर्स देखेर कोही आत्तिनुपर्दैन – अध्यक्ष ओली

काठमाडौं, ५ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले घोषणा गरेको एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ देशमा शान्ति, सुव्यवस्था कायम गर्न बनेको जिकिर गर्नुभएको छ । आज काठमाडौंमा कमाण्ड घोषणापछि सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यो फोर्स कसैका विरुद्धमा नभएको जिकिर गर्नुभयो।

‘यो कसैको विरुद्धमा बनेको होइन । हिंसा, आतंकका विरुद्धमा बनेको होइन,’ ओलीले भन्नुभयो । आफ्ना स्वंयसेवकहरू अनुशासित भएर काम गर्ने ओलीको भनाइ छ ।

‘यो स्वंयसेवक फोर्स कसैको अहितको लागि गठन भएको होइन । राष्ट्रिय हितका लागि गठन भएको हो,’ ओलीको भनाइ छ, ‘नेकपा एमालेसँग असहमति राख्ने वा यो संगठनसँग असहमति गर्नेका लागि पनि जिउधनको रक्षाका लागि यो गठन भएको हो । यसको गठनसँग कोही पनि आत्तिनुपर्दैन, तर्सिनुपर्दैन ।’

उहाँले राज्य संयन्त्रले मात्रै शान्ति सुव्यवस्था कायम गर्न नसक्ने रहेको भन्दै आफूहरूले फोर्स घोषणा गरेको बताउनुभयो ।‘यो देशमा शान्ति सुव्यवस्था कायम गर्न बनेको हो । राज्य संयन्त्रले मात्रै शान्ति सुव्यवस्था गर्न सक्ने अवस्था रहेन । औद्योगिक प्रतिष्ठानको रक्षा हुने अवस्था रहेन,’ ओलीले भन्नुभयो ।

प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार  १५ : ३७  बजे