संसद पुनस्र्थापनाका लागि कानुनी लडाइँ र सडक संघर्ष सुरू हुने –अध्यक्ष ओली

काठमाडौं, २ मंसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनस्र्थापनाका लागि आजबाट कानुनी लडाइँ र सडक सघंर्ष सुरू भएको घोषणा गर्नुभएको छ ।  च्यासलमा विघटित संसदीय दलको बैठकमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आन्दोलन घोषणा गर्नुभएको हो । उहाँले आफूहरूको आन्दोलन शान्तिपूर्ण र भयरहित रहने बताउनुभयो ।

अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रहेको बताउनुभयो । उहाँले संवैधानिक तवरबाट सरकार नबनेकाले प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्ने बताउनुभयो । उहाँले एमालेको संघर्षमा घुसपैठियाहरू देखिए कठालो समातेर प्रहरीलाई बुझाइने बताउनुभयो । अध्यक्ष ओलीले आफूहरू नागरिकको जीउधनको रक्षा गर्ने गरी आन्दोलन गर्ने बताउनुभयो । ओलीले प्रतिनिधि सभा विघटन कुनै पनि हिसाबले संवैधानिक नरहेकाले त्यसको पुनस्र्थापनाको विकल्प नरहेको बताउनुभयो । उहाँले देशविरुद्धको षडयन्त्रविरुद्ध बोल्न नसक्ने राजनीतिक पार्टीको औचित्य नरहने प्रष्ट पार्नुभयो । राष्ट्रिय सम्पत्ति र जनप्रतिनिधिका संस्थामा आगो लगाएर गरिने आन्दोलन क्रान्ति नहुने ओलीले बताउनुभयो ।

प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार  २० : ३१  बजे